नेपडेन्ट २०२५ सम्मेलनको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा हुने कार्यक्रम शुक्रबारदेखि सुरू

काठमाडौं, बैशाख ३ । नेपाल दन्त सामग्री वितरकहरूको संघ (एनडीडीए) को आयोजनामा हुन लागेको तेस्रो संस्करणको अन्तर्राष्ट्रियस्तरको ‘नेपडेन्ट २०२५ सम्मेलन’ को तयारी अन्तिम चरणमा पुगेको छ। संघले आयोजना गर्न लागेको उक्त तीनदिने सम्मेलन बैशाख ५, ६ र ७ गते (शुक्रबारदेखि आइतबारसम्म) काठमाडौंस्थित भृकुटीमण्डपमा हुनेछ।
संघका अध्यक्ष शालिकराम अर्यालले पत्रकार सम्मेलनमार्फत सम्मेलन तयारी करिब–करिब सम्पन्न भइसकेको जानकारी दिँदै, यो कार्यक्रमले स्वास्थ्य सेवा, दन्त सामग्री आपूर्ति, र प्रविधिको संयोजन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
पत्रकार सम्मेलनमा अध्यक्ष अर्यालसँगै उपाध्यक्ष सुनिल बराइली, सचिव निरन्जन खतिवडा, प्रवक्ता शेखरप्रसाद सुवेदी तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो। सो अवसरमा नयाँ वर्षको टेबल क्यालेन्डर पनि सार्वजनिक गरिएको थियो।
संघका सचिव खतिवडाका अनुसार सम्मेलनमा ५ हजारभन्दा बढी अवलोकनकर्ता तथा सहभागिता रहने अनुमान गरिएको छ। यसअघि पनि संघले भृकुटीमण्डपमै यस प्रकारको सम्मेलन सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
वर्तमानमा नेपालमा ४८ संस्थाहरू दन्त सामग्री आपूर्तिको क्षेत्रमा क्रियाशील छन्। अध्यक्ष अर्यालले जानकारी दिएका अनुसार ९० भन्दा बढी स्टलहरू रहने यस सम्मेलनमा दन्त सामग्रीका विविध ब्रान्ड, प्रविधि र सेवाहरू प्रदर्शनी गरिनेछ।
संघका प्रवक्ता सुवेदीका अनुसार कार्यक्रममा दन्त चिकित्सक, डेन्टल हाइजेनिष्ट, डेन्टल कलेजका विद्यार्थी, डेन्टल हस्पिटल तथा क्लिनिकका सञ्चालक, डेन्टल ल्याबका प्रतिनिधि लगायत डेन्टल क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहनेछ।
सम्मेलन अवधिभर प्रदर्शनीमा राखिने सामग्रीहरूमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने जानकारी दिइएको छ। आयोजनाको अनुमानित लागत ६५ देखि ७० लाख रुपैयाँसम्म लाग्ने बताइएको छ।
प्रतिक्रिया