शनिबार, वैशाख ६, २०८२

साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

नेपालखोज २०८२ वैशाख ४ गते १८:२८

ढाका । यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन)ले पूर्व साउदी राजदूतबाट ५० लाख डलर जबरजस्ती उठाउने प्रयासमा हनी–ट्र्याप गर्ने कोशिश गरेको बङ्गलादेश प्रहरीले बिहीबार बताएको छ ।

तीस वर्षीया मेघना आलमलाई सुरुमा यस दक्षिण एसियाली राष्ट्रको विवादास्पद कानूनअन्तर्गत कुनै आरोपबिना पक्राउ गरिएको थियो । उक्त कानूनले संदिग्धहरूलाई अनिश्चितकालका लागि हिरासतमा राख्न अनुमति दिन्छ ।

प्रहरी प्रवक्ता मुहम्मद तालेबुर रहमानले आलमलाई अब कथित ब्ल्याकमेल योजनामा जबरजस्ती वसूलीको आरोप लगाइएको बताए ।

अर्का एकजना वरिष्ठ प्रहरी अधिकारीले नाम नछाप्ने सर्तमा एएफपीलाई आलम र अन्यले कूटनीतिज्ञलाई पैसा हस्तान्तरण गर्न बाध्य पार्ने योजना बनाएको बताए ।

साउदी अरब बङ्गलादेशलाई आर्थिक र मानवीय सहायताको निरन्तर दाता हो र यसका २० लाखभन्दा बढी बङ्गलादेशी कामदारहरू राज्यमा विदेशी मजदुरहरूको सबैभन्दा ठूलो समूह हो ।

आलम बिहीबार अदालतको सुनुवाइका क्रममा कानूनी सल्लाह बिना उपस्थित भएकी थिइन् र उनले आफ्नो गिरफ्तारी रद्द गर्न आग्रह गर्दै उनीविरुद्ध लगाइएका आरोपलाई अस्वीकार गरिन् ।

डेली स्टार अखबारले आलमलाई कूटनीतिज्ञले सम्पर्क गरेको भन्दै रिपोर्ट गरेको थियो । कूटनीतिज्ञले उनलाई सम्बन्ध सुरु गर्न आग्रह गरेका थिए ।

ढाकास्थित साउदी दूतावासले बिहीबार प्रश्नहरूको जवाफ दिएन । अप्रिल ९ मा आलमको गिरफ्तारीपछि मिस अर्थ बङ्गलादेश सौन्दर्य प्रतियोगिताको पूर्व विजेता मोडललाई ‘राज्यको सुरक्षामा बाधा पुर्‍याएको’ र ‘देशको आर्थिक हितमा पूर्वाग्रह राखेको’ आरोप लगाइएको प्रहरीले जनाएको छ । विशेष अधिकार ऐनअन्तर्गत उनको नजरबन्दको अधिकार समूहहरूले आलोचना गरेका थिए ।

रासस/एएफपी

प्रतिक्रिया