शनिबार, वैशाख ६, २०८२

छ पटक म्याद थप हुँदा पनि पुल निर्माण ५० प्रतिशतमात्रै

नेपालखोज २०८२ वैशाख ४ गते २२:१२

मुस्ताङ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत उपल्लो मुस्ताङको घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल निर्माण सुरु भएको छ वर्ष बित्दासमेत सम्पन्न हुन नसकेको हो ।

उक्त पुल हालसम्म करिब ५० प्रतिशतमात्र निर्माण भएको छ । कोरला सडकअन्तर्गत (जोमसोम–कोरला ११) किमी दूरीमा पर्ने करिब एक दर्जन पुल सम्पन्न भइसक्दासमेत सुरुआती चरणमा ठेक्का लागेको उक्त पुल निर्माण सम्पन्न हुन सकेको छैन ।

विसं २०७५ पुस १६ गते निर्माण कम्पनी हिमढुङ ठोक्कर इमोटल जेभी कन्स्ट्रक्सनले आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । सो सम्झौता अनुसार २०७८ साल पुस ९ गते सम्पन्न गर्नुपर्ने थियो ।

आयोजनाले निर्माण कम्पनीलाई पटकपटक ताकेता गरेपनि अटेरी गर्ने गरेको जनाइएको छ । हालसम्म घमी खोला पुलको छ पटक म्याद थप भइसकेको छ । एक स्पानको ४० मिटर लम्बाइ र ड्रेन तथा फुटपाथ गरी ११ मिटर चौडा रहेको पुलको ठेक्का सम्झौता लागत रु छ करोड ८० लाख रहेको छ ।

पुल निर्माणमा ढिलाइ हुँदा जोमसोम हुँदै लोमान्थाङ र कोरला नाका जाने सवारीसाधनलाई बर्खायाममा सास्ती हुने गरेको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पुल निर्माणमा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको बताए । उनले विकास निर्माणको कामलाई अवरुद्ध पार्ने निर्माण कम्पनीलाई आवश्यक कारबाही वा ठेक्का सम्झौता रद्द गरेर काम अघि बढाउनुपर्ने बताए ।

निर्माण कम्पनी कार्यस्थलमा फर्किएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख ध्रुव झाले जानकारी दिनुभयो । झाका अनुसार पुलको ‘फाउन्डेसन’ र ‘सबस्ट्रक्चर’को काम सम्पन्न भइसकेको छ । अब ढलानका लागि ‘सुपरस्ट्रक्चर’को काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

यसै सडकअन्तर्गत कागबेनी खोलामा निर्माणाधीन पुल ९५ प्रतिशत भौतिक प्रगति हुँदा विसं २०८० साउन २८ गतेको बाढीले बगाएर क्षति पु-याएको थियो । उक्त स्थानमा आयोजनाले नयाँ ठेक्का खुलाएको छैन । रासस

प्रतिक्रिया