शनिबार, वैशाख ६, २०८२

अप्रिल १५ : विश्व समुद्री यात्रा इतिहासको सबैभन्दा दुखद दिन

नेपालखोज २०८२ वैशाख ५ गते १०:२५

काठमाडौं । आज अप्रिल १५, विश्व सामुन्द्रिक यात्रा इतिहासमा निकै दुखद दुर्घटना भएको दिन । आजभन्दा ११३ वर्ष अगाडि १९१२ अप्रिल १५ अर्थात बि.सं. १९६९ बैशाख ४ गते उत्तरी आन्ध्र महासागरमा टाइटनिक नाम गरेको विशाल पानीजहाज डुबेको थियो । त्यस बेला नेपालमा श्री ३ चन्द्रशम्शेर प्रधानमन्त्री थिए । साथै केवल १०९ दिन अगाडि बेलायती महाराजा जर्ज पाँचौले नेपाल भ्रमण गरेर फर्केका थिए ।

करिव १५१४ यात्रु तथा पानीजहाजका कर्मचारीहरुको मृत्यु भएको यस दुर्घटनामा अधिकांश बेलायती तथा अमेरिकीहरु थिए । साथै मृत्यु हुनेहरुमा बढि पुरुष नै थिए । सिमित लाइफ बोटका कारण सबैभन्दा पहिले महिला तथा बच्चालाई उद्दार गरिदा पुरुषहरु तथा जहाजका कर्मचारीहरुको मृत्यु बढि हुन पुगेको थियो ।

जहाजमा यात्रा गरिरहेका १०९ बालबालिकामा ५३ को मृत्यु भएको थियो । मृत्यु हुने बालबालिकामा तेश्रो दर्जामा यात्रा गर्ने ५२ बालबालिका थिए । त्यस्तै ४०२ महिला यात्रु तथा २३ महिला कर्मचारीमा १०६ महिला यात्रु तथा ३ महिला कर्मचारीको मृत्यु भएको थियो । तर ८०५ पुरुष यात्रु तथा ८८५ पुरुष कर्मचारीमा ६५९ पुरुष यात्रु तथा ६९३ पुरुष कर्मचारीहरुको मृत्यु भएको थियो ।

यसमा पनि तेश्रो दर्जामा यात्रा गरिरहेका ७०६ यात्रुमा ५२८ को मृत्यु भएको थियो । ६९६ जना टाइटनिकका कर्मचारीहरुको मृत्यु भएको थियो । कर्मचारीहरुको प्रथम दायित्व यात्रुहरुको जीवन रक्षा गर्ने भएको हुँदा धेरै कर्मचारीको मृत्यु हुनु अस्वभाविक थिएन तर तेश्रो दर्जामा यात्रा गर्ने साधारण तथा गरिव यात्रुहरुको मृत्यु नै अत्यधिक भएको हुँदा प्राथमिकता नदिएको स्पष्ट देखिन्छ ।

टाइटनिक यात्राको भाडा पहिलो दर्जाको ३० पाउण्ड, दोश्रो दर्जाको १३ पाउण्ड तथा तेश्रो दर्जाको केवल ७ पाउण्ड थियो । तेश्रो दर्जामा यात्रा गर्नेहरुमा अधिकांश अमेरिकामा रोजीरोटीको खोजीमा जान चाहनेहरु थिए । ति गरिव थिए र दुइ पैसा कमाउने ध्येयले नै हिडेका थिए । ७ पाउण्डको टिकटमा टाइटनिक छुट्ने कुनै पनि तीन बन्दरगाहसम्म पुग्नेको लागि रेलमा निशुल्क ब्यबस्था गरिएको थियो । यसर्थ पनि कामको खोजीमा रहेका गरिवहरु बढि यात्रा गरिरहेका थिए ।

यस टाइटनिकका लागि टिकट काटेर पनि यात्रा गर्न छुटाएका ८ भाग्यमानी यात्रुहरु थिए भने ९ एशियाली यात्रुहरुले यात्रा गरेका थिए जसमा केवल दुइको मात्र मृत्यु भयो ६ चीनिया तथा १ जापानी यात्रुहरु बाँचेका थिए । सबैभन्दा बृद्ध ७४ वर्षका पुरुष यात्रु थिए भने ६४ वर्षका महिला यात्रु थिए । टाइटनिकका यात्रुहरुमा सबैभन्दा कम उमेरका मिल्भिना डिन केवल ९ हप्ताका थिए । जो दु्र्घटनाबाट बाँचे । दुर्घटनाको तेश्रो दिन न्यूयोर्क पुगेका उनको बुबाको भने मृत्यु भएको थियो । उनको आमा भने दुइ बच्चाको स्याहारका कारण गएका थिएनन् । मिल्भिना सबैभन्दा पछिसम्म बाँचे । उनको ९७ वर्षको उमेरमा सन २००९ मा मृत्यु भएको थियो ।

कतिपयले यस दुर्घटनालाई षडयन्त्र पनि भन्ने गर्दछन् । आधारहिन यस तर्कका अनुसार अमेरिकी नागरिक तथा त्यस समयका धनाध्य एवं जहाज कम्पनीका एक मालिक जे.पि. मोर्गानको षडयन्त्रका कारण यो दुर्घटना घटाइएको थियो भन्ने गरिन्छ । मोर्गानको षडयन्त्रको शंका गर्नेहरुले अन्तिम समयमा जहाजमा यात्रा नगरेको आधार पनि दिने गर्दछन् ।

हालसम्म दुर्घटना ग्रस्त टाइटनिक जहाजको विषयमा १९ वटा चलचित्र तथा करिव २८ वटा डकुमेन्ट्री बनेका छन् । जसमध्य सन १९९७ मा बनेको जेम्स क्यामरुनको चलचित्रले सबैभन्दा बढि चर्चा पायो । जहाजका भाग्यशाली यात्रु जो दुर्घटना पछि पनि बाँचे, डोरोथी गिबसनले टाइटनिक डुबेको केवल २९ दिनमा नै सेभ्ड फ्रम टाइटनिकू चलचित्र तैयार गरेर प्रदर्शन समेत गरेका थिए ।

तर सो चलचित्रको कुनै पनि रिल हालमा भेटिएको छैन । सन १९१४ मा फोर्ट ली स्टुडियोमा भएको आगलागिमा यसको रिल जलेर नष्ट भएको भनिन्छ । यस चलचित्र सम्बन्धि पत्रपत्रिकामा छापिएको लेख र विज्ञापनहरु भने आज पनि खोज्न सकिन्छ ।

प्रतिक्रिया