शनिबार, वैशाख ६, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट २१ जना पक्राउ

नेपालखोज २०८२ वैशाख ५ गते १५:३६

काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका-४ दरखास्तबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १०१ ग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया गुलरीया नगरपालिका-५ बस्ने ३१ वर्षीय विशाल गुप्ता र भारत उत्तर प्रदेश बराईज घर भएका ३२ वर्षीय अमित पटवाल रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.१२ प १७८७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका-१ पुरीटोल र भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४ ग्राम ५७ मिलिग्राम सहित रामधुनी नगरपालिका-५ झुम्का बस्ने २० वर्षीय करण चौधरी समेत ११ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-११ वानडाँडास्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेटसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बु रहेका छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

पर्साको जिराभवानी गाउँपालिका-६ नौका चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८८६ ट्याब्लेटसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय दिलिप प्रसाद राम र २२ वर्षीय राज बिद्या प्रसाद खाँ थारू रहेका छन् । इलाका प्रहरी कार्यालय सेढवा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले ना.१२ प २१०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २०० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका–९ बस्ने २३ वर्षीय टेक बहादुर पुन र २३ वर्षीय अमित सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८५० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–७ बस्ने ३० वर्षीय अभिषेक शाह र कैलारी गाउँपालिका–७ बस्ने ४२ वर्षीय श्याम बहादुर चौधरी रहेका छन् ।

वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१–०१० प ८९४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया