चीनको अन्तरिक्ष अभियान : सन् २०२५ मा के गर्दैछ चीन?

बेइजिङ । चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू सञ्चालन गर्ने योजना बनाएको छ । यसमा ‘तियानवेन–२’ नामक क्षुद्रग्रह अन्वेषण मिसन पनि सामेल छ । यस मिसनले क्षुद्रग्रहको नजिक पुगेर अध्ययन गर्ने र नमुना सङ्कलन गर्नेछ । क्षुद्रग्रह अन्वेषण मिसन भन्नाले अन्तरिक्षमा रहेका साना ग्रहजस्तै आकृतिका वस्तुहरू, जसलाई क्षुद्रग्रह भनिन्छ, तिनीहरूको अध्ययन गर्न पठाइने अन्तरिक्ष अभियानलाई जनाइन्छ ।
यस्ता मिशनहरूबाट क्षुद्रग्रहको बनावट, उत्पत्ति, सतहको अवस्था, गति आदिको बारेमा जानकारी लिइन्छ, जसले सौरमण्डलको इतिहास बुझ्न सहयोग पुर्याउँछ । साथै, पृथ्वीमा खतरनाक रूपमा नजिक आउने क्षुद्रग्रहहरू पहिचान गर्न र भविष्यमा यिनबाट बच्ने उपाय सोच्न पनि यस्ता मिसन उपयोगी हुन्छन् । त्यस्तैगरी, ‘शेञ्चौ–२०’ र ‘शेञ्चौ–२१’ नामक मानिस चढाइने यानहरू पनि यही वर्ष अन्तरिक्षतर्फ पठाइने छन् ।
चीनले अन्य देशहरूसँग मिलेर संयुक्त अन्तरिक्ष अनुसन्धान पनि गर्दैछ । युरोपसँग मिलेर बनाइने एउटा अभियानले सूर्यको हावा पृथ्वीको चुम्बकीय क्षेत्रमा कसरी असर गर्छ भन्ने कुरा पत्ता लगाउनेछ । अर्को परियोजनामा चीन र इटालीले मिलेर भू–कम्प पहिल्यै थाहा पाउने उद्देश्यले एउटा उपग्रह निर्माण गरिरहेका छन् । चीनले बेल्ट तथा सडक पहलमा सहभागी भएका देश, ब्रिक्स समूहका राष्ट्र र युरोपेली साझेदारहरूसँग मिलेर चन्द्रमामा अनुसन्धान केन्द्र बनाउने, अन्तरिक्षमा संयुक्त अध्ययन गर्ने र विज्ञान प्रविधिको आदानप्रदान गर्ने योजना अघि बढाइरहेको छ ।
चीनले आफ्नो उपग्रह सेवामार्फत कृषि विकास, विपद् व्यवस्थापन तथा स्मार्ट सहर निर्माणजस्ता क्षेत्रमा पनि अन्य राष्ट्रहरूलाई सहयोग गर्नेछ । यसै सन्दर्भमा, चीनले यस वर्षको अन्तरिक्ष दिवस अप्रिल २४ मा मनाउनेछ । सो अवसरमा शाङ्घाइ शहरमा बृहत् कार्यक्रमहरू आयोजना गरिने छन्, जसमध्ये उद्घाटन समारोह, अन्तरिक्ष प्रदर्शनी, सांस्कृतिक गोष्ठी तथा शैक्षिक सम्मेलनहरू मुख्य हुनेछन् । देशभर करिब ६५० वटा सार्वजनिक कार्यक्रम आयोजना हुनेछन्, जसमा विद्यालय खुला गर्ने, वैज्ञानिकद्वारा कक्षा सञ्चालन, विज्ञान प्रदर्शनी, प्रतियोगिता तथा कार्यशाला हुनेछन् ।
यस पटकको अन्तरिक्ष दिवसमा थाइल्याण्डलाई विशेष अतिथि राष्ट्रको रूपमा आमन्त्रित गरिएको छ । चीन र थाइल्याण्डले चन्द्र–अभियान, संयुक्त उपग्रह निर्माण र पृथ्वी अवलोकनसम्बन्धी सहकार्यलाई अझ विस्तार गर्ने योजना बनाएका छन् । चीनले आफ्नो पहिलो उपग्रह ‘तुङफाङहोङ–१’ सन् १९७० को अप्रिल २४ मा प्रक्षेपण गरेपछि, यही दिनलाई सम्झनाका रूपमा सन् २०१६ देखि प्रत्येक वर्ष ‘चीन अन्तरिक्ष दिवस’ को रूपमा मनाउँदै आएको हो ।
प्रतिक्रिया