शनिबार, वैशाख ६, २०८२

मानपुर डेढगाउँ सडक कालोपत्रपछि यात्रा सहज

नेपालखोज २०८२ वैशाख ६ गते ६:१२

दमौली । गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढगाउँसम्म सडक कालोपत्र भएपछि यात्रा सहज भएको छ ।

घिरिङको मानपुरदेखि डेढगाउँसम्मको ११ किलोमिटर खण्ड कालोपत्रको काम सकिएको हो । सडक कालोपत्र भएपछि यस ठाउँ भएर यात्रा गर्नेलाई सहज भएको छ ।

यसअघि ११ किलोमिटर कच्ची सडक पार गर्न दुई घण्टा लाग्नेमा सडक कालोपत्र भएपछि उक्त दूरी १५ मिनेटमा छोटिएको स्थानीय सूर्यबहादुर रानाभाटले बताए ।

सडक कालोपत्र भएसँगै घिरिङ गाउँपालिका–४ र १ का वासिन्दालाई आवतजावत गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । घिरिङ गाउँपालिका–१ को पुट्टार, अत्रौली र बैडीलगायतका स्थानबाट गाउँपालिकाको कार्यालय आउन अधिकांशले कालोपत्र सडक प्रयोग गर्ने गरेका छन् ।

उक्त सडक कालोपत्र गर्न विसं २०७६ फागुनमा ठेक्का लागेको थियो । सडक कालोपत्रका ठेक्का पाएको सपना निर्माण सेवाले उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ ।

उक्त सडकमा ट्रयाक खुलेको ३० वर्ष भयो । विसं २०५१ सालमा ट्रयाक खुलेको उक्त मार्ग कालोपत्र भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु २२ करोड ८५ लाख ४१ हजार ७९३ को लागतमा उक्त मार्गको स्तरोन्नतिको काम अगाडि बढेको थियो ।

रु ३५ करोड १४ लाख ७४ हजार १०९ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार ३१६ कम रकममा सडक कालापत्रको ठेक्का पाएको थियो ।

यो बाटो कालोपत्र भएपछि पोखरादेखि मुग्लिन हुँदै नवलपुर जाने यात्रुले तनहुँको भिमाद हुँदै नवलपुर निस्कन छोटो बाटो प्रयोग गर्न सक्नेछन् ।

नवलपुरतर्फ बौदीकाली झ्यालबास १४.१ किलोमिटर कालोपत्र गर्न स्तरोन्नति भइरहेको छ । दोस्रो चरणमा थप सात किलामिटर कालोपत्र गर्न बहुवर्षीय ठेक्काको प्रक्रिया अगाडि बढेको छ । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर सडक निर्माण भइसकेको छ । रासस

प्रतिक्रिया