आइतबार, वैशाख ७, २०८२

आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म

नेपालखोज २०८२ वैशाख ७ गते ७:१६

टक्सार (भोजपुर) । भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडाैं, चर्च ब्वाइज युनाइटेड काठमाडाैं, एलएक्स सिटी मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष भने यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने छ ।

भोजपुर –७ कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छभने अन्य थप रकम सहप्रायोजकबाट सङ्कलन गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

गत वर्ष सञ्चालन भएको सातौँ संस्करणमा चर्च ब्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दै विजेता बनेको थियो ।

गत वर्ष पनि जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडाैं, चर्च ब्वाइज युनाइटेड काठमाडाैं, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, भगवती स्पोर्ट्स क्लब खोटाङ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले प्रतियोगितामा भाग लिएको थियो । रासस

प्रतिक्रिया