‘प्लास्टिकजन्य फोहरको दिगो व्यवस्थापन अहिलेको प्रमुख चुनौती’

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले प्लास्टिकजन्य फोहरले हिमाल, नदी, पहाड, समुद्र हुँदै मानव स्वास्थ्य तथा सम्पूर्ण वातावरणमा गम्भीर असर पारिरहेको बताउनुभएको छ । यस्तो फोहरलाई वैज्ञानिक र दिगो रूपमा व्यवस्थापन गर्नु अहिलेको प्रमुख चुनौती भएको उनको भनाइ थियो ।
आज यहाँ आयोजित प्लास्टिक फोहर व्यवस्थापन सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री शाहीले प्लास्टिक प्रदूषणका प्रभाव र यसले ल्याउने समस्याको समाधान गर्न सरकार एक्लैको प्रयास पर्याप्त नहुने जिकिर गरे । यसका लागि शिक्षण संस्था, अनुसन्धान केन्द्र, उद्योग व्यवसायी, स्थानीय सरकार, अन्तरराष्ट्रिय साझेदार र आमनागरिकबीच समन्वय र सहकार्य आवश्यक रहेकामा उनले जोड दिए ।
मन्त्री शाहीले सम्मेलनमा हुने प्रस्तुति र बौद्धिक मन्थनबाट प्राप्त सल्लाह, सुझावहरूले नीति निर्माण प्रक्रियामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘यस सम्मेलनहरूबाट आएका सुझाव र सिफारिसहरूलाई वातावरणमैत्री नीति निर्माण गर्न र सरकारद्वारा सञ्चालन गर्ने कार्यक्रमहरूमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’, उनले भने । प्लास्टिकको विकल्प खोज्ने, पुनः प्रयोग प्रविधिलाई प्रोत्साहन दिने र वातावरण संरक्षण कार्यमा थप लगानी गर्ने प्रतिबद्धता यथावत् रहेको मन्त्री शाहीले बताए ।
उनले सम्मेलनमा प्रस्तुत गरिएका विचार, समाधान र प्रविधिहरूले नेपाल र सम्पूर्ण दक्षिण एसियाको प्लास्टिक समस्या समाधानमा ठोस योगदान पु¥याओस् भनी कामना गरे । रासस
प्रतिक्रिया