सोमबार, वैशाख ८, २०८२

‘विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन’

नेपालखोज २०८२ वैशाख ८ गते १८:५५

काठमाडाैं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरुको आन्दोलन स्थगित नहुने बताएका छन् ।

सोमबार रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उहाले सरकारले चाहेको खण्डमा केही दिनमा नै विद्यालय शिक्षा विधेयक टुङ्ग्याएर जारी गर्न सकिने अवस्था रहेको भन्दै विद्यालय शिक्षा ऐन टुङ्गोमा पुगेपछि मात्रै आफूहरु कार्यक्षेत्रमा फर्किने बताए ।

अध्यक्ष सुवेदीले आफूहरुले सभामुख देवराज घिमिरेलाई भेट्दा १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा १३ गते नै ऐन जारी गर्न सकिने बताएको जानकारी दिए ।

आफूहरुले सरकारसँग २०७५, ०७८ र ०८० विभिन्न सम्झौता गरेको र अहिले तिनै सम्झौता कार्यान्वयनको लागि आन्दोलन भइरहेको उनले बताए । उनले सरकारले समयमा नै आफुहरुको माग नसुनेका कारण शिक्षकहरु अहिले एकशुत्रीय मागको साथ आन्दोलनमा आउनुपरेको तर्क गरे ।

उनले अहिलेको परिस्थितिमा कक्षा १२ को परीक्षा केही समय रोक्न नै उपयुक्त हुने जिकिर गरे । प्रधानाध्यापक, शिक्षक र कर्मचारी उक्त परिक्षामा सहभागी नहुने निर्णय आफूहरुले गरिसकेको उहाले सुनाए ।

उनले अहिलेको समस्या समाधान भएपछि द्रुत गतिमा बढीभन्दा बढी शिक्षकहरु उपस्थित भएर एसईईको कपी परीक्षण गरिने र अन्य शैक्षिक गतिविधिलाई अघि बढाउने उल्लेख गरे ।

आफूहरुसँग विगतमा गरिएका सहमतिको पालना गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले विगत २० दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया