सोमबार, वैशाख ८, २०८२

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

नेपालखोज २०८२ वैशाख ८ गते २०:४४

काठमाडौं । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ ।

सिद्धार्थ बाटिका ब्राण्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ वैभव ब्राण्डमा सञ्चालनको तयारी भइरहेको सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य तथा उक्त क्षेत्रका क्लस्टर म्यानेजर किरण रिमालले जानकारी दिए ।

‘रिसोर्ट स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ, यसै वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ’ उनले भने । रिमालका अनुसार स्तरोन्नतिपछि होटल चार तारे स्तरीय हुनेछ । हाल कायम रहेको २६ वटा रुम र ५६ वटा बेडबाट ६४ वटा रुम र ९९ बेड संख्या पुग्नेछ ।

साथै आउटडोर र इनडोर ज्याकुजीसहितको प्रेसिडेन्ट रुमको पनि सुविधा थप हुने उनको भनाइ छ । ‘स्तरोन्नतिपछि ४२५ स्वायर फिटको ग्राण्ड डिलक्स रुम पनि निर्माण हुनेछ, जसमा बाथटबलगायतको सुविधा हुनेछ, बालबालिकाका लागि पानीसँग सम्बन्धित खेलका लागि विभिन्न पूर्वाधार निर्माण भैरहेको छ भने मिनि फूटसल मैदान पनि निर्माण भएको छ’, उनले भने ।

त्यसबाहेक नेपाली खाना र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यसहित ८० जना अट्ने क्षमताको त्रिशुली नदिको सुन्दर दृश्य अवलोकन र नदीको वाटर म्युजिकको मजा लिई शान्त वातावरणको डेक रेष्टुरेन्ट पनि सञ्चालन हुनेछ भने ३०० जना क्षमताको सभाहल पनि थप हुँदैछ। हाल रिसोर्टमा १०० जना क्षमताको सभाहल छ ।

रिमालका अनुसार स्तरोन्नतिपछि १०० जना अट्ने अल डे डाइनिङ हुनेछ भने सुन्दर फराकिलो बगैचा, स्वीमिङपुल, छुट्टै खेल मैदान, रिसोर्टभित्रै ग्रोसरी पसल र प्रत्येक शुक्रबार गुरुङ र मगर संस्कृतिको प्रवद्र्धन हुने गरी सांस्कृतिक नृत्यको पनि मजा लिन पाइनेछ । रिमालले पोखरा र बन्दिपुरलगायतका पर्यटकीय गन्तव्यमा बढ्दो पर्यटक, कर्पोरेट कार्यक्रमलगायतलाई लक्षित गरी स्तरोन्नति सुरु गरिएको बताए । यस राजमार्ग हुँदै यात्रा गर्ने ग्राहकका लागी छुट्टै रेस्टुरेन्ट र विद्युतीय गाडी प्रयोगकर्ताका लागि चार्जिङको पनि सुविधा रहेको छ। रिसोर्टमा हाल ६० जनाले रोजगारी पाइरहेका छन् भने स्तरोन्नतिपछि ८५ जनाले रोजगारी पाउनेछन् ।

रिमालका अनुसार सुपर त्रिशुली जलविद्युत् आयोजनाको पनि बाँध रिसोर्ट नजिकै बन्ने भएकाले त्यसपछि यहाँको पर्यटन विकासमा सहयोग पुग्नेमा संस्था विश्वस्त छ । सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा मुलुकभर ३० भन्दा बढी आउटलेट सञ्चालनमा छन् । जसमा पाँच तारे स्तरको सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिकाका साथै सिद्धार्थ कटेज, एसक्याफे ब्राण्डलगायत सञ्चालनमा छन् ।

प्रतिक्रिया