मंगलबार, वैशाख ९, २०८२

लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

नेपालखोज २०८२ वैशाख ९ गते ७:४४

बनियानी । झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो । कुल ११ किमी लक्ष्मीमार्गको छ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।

लक्ष्मीमार्ग कालोपत्र भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने उनी बताउँछन् । कनकाई नगरपालिकाको एकल रु ६५ लाखको लागतमा सात सय मिटर, प्रदेश सरकार र स्थानीय तहको साझेदारी कनकाई नगरको रु ४५ लाख र कोशी प्रदेश सरकारको रु एक करोड २० लाखको लागतमा एक हजार ३०० मिटर र सङ्घीय सरकारको रु पाँच करोड २० लाखको लागतमा तीन हजार २०० मिटर सडक निर्माण भइरहेको वडाध्यक्ष सुवेदीले बताए ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडकमा विभिन्न पाँचवटा निर्माण कम्पनीले धामधम काम गरिरहेका छन् । सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने वडाध्यक्ष सुवेदी बताउँछन् । रासस

प्रतिक्रिया