कावासोती-१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय उनले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ । मेवा टिपेर बजार पठाउन उनी अहिले व्यस्त छन् ।
तीन बिघामा मेवाखेती गरेका महतोले अहिले ६० टन मेवा बिक्री गरिसेका छन् । मेवा बिक्रीबाट करिब रु १८ लाख आम्दानी गरेको उनले बताए । मेवाको बिक्रीमा खासै समस्या नभएको उनको भनाइ छ । उत्पादन भएको मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ । वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो माग गरेअनुसार पठाउँदै आएको उनको भनाइ छ । केही मेवा काठमाडौँ पनि बिक्री गरेको महतोले बताए ।
गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट बिक्री सुरु गरेकाे हाे । असोजबाट फल पाक्न थालेको अहिलेसम्म लगातार बजारमा पठाउँदै आएका छन् ।
मेवा प्रतिकेजी ३० देखि ४० रुपैयाँ सम्ममा बिक्री हुने गरेको किसान महतोले बताए । मेवाखेतीमा करिब १३ लाख रुपैयाँ खर्च भएको र यो याममा हालसम्म करिब पाँच लाख रुपैयाँ फाइदा लिइसकेको उनले बताए । अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनले बताए । उक्त समयसम्म करिब २०-२१ लाख रुपैयाँको मेवा बिक्री हुने उनको अनुमान छ । यसले आम्दानी पनि बढाउने उनले बताए ।
मेवाखेतीबाट उनले आम्दानीमात्र लिनुभएको छैन, स्थानीय २२ जनालाई कामका आधारमा ज्याला प्रदान गर्नेगरी रोजगारी दिए । मेवाको लगाएदेखि विभिन्न समयमा यसको गोडमेल गर्ने, मेवा टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब ९ लाख रुपैयाँज्यालाबापत बुझेको उनको भनाइ छ ।
कामदारसहित मुख्यगरी कम्पोस्ट मल र बीउमा खर्च हुने उनको भनाइ छ । सुरुमा लगानी गर्दा छ महिनासम्म आम्दानी नहुने हुँदा केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी दिन थाल्ने हुँदा मेवाखेती त्यति गाह्रो पेसा नभएको उनको भनाइ छ ।
अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको भनाइ छ । हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुनः नयाँ बोट लगाउनुपर्ने उनी बताउछन् । उनले रेडलेडी प्रजातिको मेवाखेती गरेका छन् ।
मेवाखेतीका लागि कावासोती नगरपालिकाले तीन लाख रुपैयाँसम्मको अनुदान उपलब्ध गराएको महतोले बताए । मेवाखेती गर्नुअघि उनले उक्त जग्गामा खरबुजाखेती गरेका थिए । खरबुजाबाट समेत राम्रो आम्दानी भएको महतोले बताए । कावासोती नगरपालिका-१७ का वडा सदस्यसमेत रहेका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि अनुकरणीय बनेका छन् ।
रोजगारीका लागि सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले स्वदेशमा समेत मेहनत गरे राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरे ।
प्रतिक्रिया