जलवायु परिवर्तनको असर : हिन्दकुश-हिमालयमा हिउँ घट्दै

काठमाडौं । एशियाको हिन्दकुश-हिमालय क्षेत्रमा यस वर्ष २३ वर्षयताकै सबैभन्दा कम हिउँ परेको छ, जसका कारण करिब दुई अर्ब मानिसको खानेपानीको स्रोतमा गम्भीर सङ्कट उत्पन्न हुने खतरा रहेको वैज्ञानिकले बताएका छन् ।
अफगानिस्तानदेखि म्यान्मासम्म फैलिएको यो हिमाली क्षेत्र आर्कटिक र अन्टार्कटिक क्षेत्रबाहेककै सबैभन्दा धेरै हिउँ र बरफ हुने स्थान हो । यही हिउँ पग्लेर आउने पानीले दक्षिण एशियाका धेरै देशमा झन्डै दुई अर्ब जनताको जीवन धान्ने पानी आपूर्ति हुँदै आएको छ ।
हिउँ जम्ने समय घट्यो
अन्तरसरकारी संस्था ‘एकीकृत पर्वतीय विकास केन्द्र’ (आईसीिमोड) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, हिन्दकुश-हिमालय क्षेत्रमा हिउँ जम्ने समय सामान्यभन्दा २३.६ प्रतिशतले घटेको छ । यो पछिल्ला २३ वर्षयताकै सबैभन्दा कम हो ।
यो अवस्था लगातार तेस्रो वर्ष देखिएकोले दीर्घकालीन असर पर्ने चेतावनी दिइएको छ ।
खडेरीको जोखिम बढ्ने
प्रतिवेदनमा खोलानालामा पानीको बहाव कम हुने, भूमिगत पानीमा अत्यधिक निर्भरता बढ्ने र खडेरीको जोखिम उच्च हुने उल्लेख छ । प्रतिवेदन तयार पार्ने प्रमुख वैज्ञानिक शेर मुहम्मदका अनुसार, ‘यस वर्ष हिउँ पर्न ढिलो भयो र त्यति धेरै पनि परेन ।’
खेतीपाती र जनजीवनमा असर
क्षेत्रका कयौँ देशले खडेरीको सम्भावनाबारे पहिले नै चेतावनी जारी गरिसकेका छन् । खेतीबाली उत्पादन, खानेपानीको पहुँच र गर्मी बढ्दै गएकोले जनजीवन थप कठिन हुने देखिएको छ ।
नीति परिवर्तनको आग्रह
आईसीिमोडका प्रमुख पेमा ग्यात्सोले जलवायु परिवर्तनका कारण अब हिउँसम्बन्धी गडबडी बारम्बार दोहोरिने निश्चित जस्तै भइसकेको बताए । त्यसैले दीर्घकालीन नीति निर्माण र तयारी आवश्यक भएको उनको भनाइ छ ।
आईसीिमोडले सदस्य राष्ट्र-अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मा, नेपाल र पाकिस्तानलाई सशक्त पानी व्यवस्थापन, खडेरीको तयारी, समयमै सूचना दिने प्रणाली र क्षेत्रीय सहकार्यमा जोड दिन आग्रह गरेको छ ।
प्रतिक्रिया