वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहार

धरान । व्यापार, शिक्षा र पूर्वाधारको गतिशील विकास भइरहेका सहरहरू तर त्यही सहरभित्र त्यस्ता केही अनुहारहरू छन् जसको जीवनमा न चहलपहल छ न भविष्यका योजना नै । खासगरी बुढ्यौली उमेरमा आश्रयविहीन भएकाहरूको ठूलो सङ्ख्या अहिले परिवार छाडेर वृद्धाश्रमको चारकिल्लाभित्र निर्जिव जीवन बाँच्न विवश छन् ।
सत्तरी वर्षीया इन्दिरा सुवेदी इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रममा विगत १४ वर्षदेखि आश्रय लिइरहनुभएको छ । उनको अनुहारमा जीवनमा केही गर्न नसकेकामा पश्चाताप, निराशा, आक्रोश र कुण्ठा झल्किरहेको पाइन्छ ।
उनको नजर भने हरबखत बाहिर सडकमा हिँडिरहेका मान्छेहरूमा केन्द्रित हुन्छ । ती मान्छेहरूलाई हेर्दै उनी भन्छन्, ’सानै उमेरमा विवाह गरेँ, २० वर्षको उमेरमा छोरालाई जन्म दिएँ । घरमा खुसीको माहोल बेग्लै थियो । घरनजिकै सानो चियापसल र सागसब्जीको पसल पनि थियो । छोरालाई साथमा लिएर बिहान पसल जान्थे अनि साँझपख घर फर्किँदा घरको रौनक बेग्लै हुन्थ्यो ।’
सुरुमा वृद्धाश्रम भनेको कस्तो हुन्छ भन्ने थाहा नै थिएन मलाई । सानैमा बाबाआमा पनि गुमाएकी थिएँ, श्रीमान् बितेपछि छ मेरा कोही भएनन्, एक्ली भएँ । चिनजानका केही आफन्तले सधैँ भन्ने गर्थे, आश्रम गएर बस्नू । उनीहरूकै कुरा मानेर वृद्धाश्रम आएर बसिरहेकी छु, सुवेदीले बताए ।
अहिले १७ जना वृद्धवृद्धा बसिरहेको रामजानकी शान्ति वृद्धाश्रम २०५६ सालमा इटहरीमा खुल्यो । आधुनिक जीवनशैली अपनाउने नाममा परिवारबाट छुट्टिएर बस्ने चलन बढेसँगै पछिल्लो समय वृद्धवृद्धाहरू घरविहीन हुनुपर्ने स्थिति बन्दै गएको पनि पाइन्छ । सामाजिक मनोविज्ञानले वृद्धाश्रमलाई अनावश्यक ठाने पनि अहिलेको सामाजिक यथार्थले भने वृद्धाश्रमको आवश्यकतालाई औँल्याइरहेको छ र वृद्धवृद्धाहरूको आश्रयस्थल बनिरहेको छ ।
यस्तै इन्दिरा सुवेदीको जस्तै कथा विराटेश्वर वृद्धाश्रम विराटनगरमा बसिरहेकी ८१ वर्षीया सरिता गौतमको पनि छ । उहाँ विगत २८ वर्षदेखि वृद्धाश्रममा बस्दै आए ।
गौतमको आँखामा पीडामात्र होइन, वेदना पनि प्रष्ट देखिरहेको थियो । आश्रममा आएपछि शान्ति र सुख त छ । तर मनको कुँडाइ भने अझै छ ।
‘पतिको मृत्युपछि छोराछोरीका लागि बाँचे । उनीहरूको पढाइ, विवाह सबै व्यवस्थापन गरेँ । अहिले न फोन गर्छन् न भेट्न आउँछन् । अहिले छोराछोरी कता छन् केही थाहा छैन । मलाई यही आश्रम अहिले सुन्दर घरजस्तो छ’, खुसी साट्ने प्रयास गर्दै गौतमले भने ।
त्यस्तै ८६ वर्षीया पवित्रा सुवेदी विगत २१ वर्षदेखि वृद्धाश्रममा बस्दै आउनुभएको छ । जीवनभर कहिले नथाकी आफ्ना सन्तानका लागि खटिनुभएकी उहाँ अहिले पराइझैँ ठानिएका ठाउँमा दिनहरू बिताइरहेका छन् । प्रष्ट बोल्न र राम्रोसँग देख्न पनि नसक्ने उनका आँखाले अहिले सन्तानविहीन भएर वृद्धाश्रमको ओछ्यानमा टोलाएर बाहिरको आकाश हेरिरहेका छन् ।
’आफ्नै सन्तानले मलाई हेरचाह गर्न नसकेपछि आश्रम ल्याएर छाडे । कहिलेकाहीँ मलाई भेट्न छोरा आउँछ । तर अनुहार कस्तो छ प्रष्ट देख्न सक्दिनँ । पहिले घरमा छोराछोरीसँगै बसेर बिहान-बेलुकाको खानासँगै बसेर खाएको याद आउँछ’, उनले मनको पीडा पोखे । हुन त यहाँ पनि मजस्तै धेरै वृद्धहरू हुनुहुन्छ, उनीहरूसँग गफ गरेर मन भुलाउन कोसिस गर्छु । तर घरजस्तो न्यानोपन भने हुँदैन रहेछ, उनले सुनाए ।
पछिल्लो समय विशेषगरी सहरी क्षेत्रमा व्यस्त परिवारका वृद्धवृद्धा र विभिन्न कारणले परिवारबाट वञ्चित हुन पुगेका वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकतासमेत बढ्दै गएको छ । घरमा बसेर असुरक्षित र अमर्यादित जीवन जिउनुभन्दा वृद्धाश्रममा बस्न राम्रो भन्ने विषय आजभोलि समाजमा स्थापित हुँदै गएको रामजानकी वृद्धाश्रमका अध्यक्ष ठगेन्द्रप्रसाद आचार्यले बताए । यो राम्रो कुरा त होइन तर सामाजिक घटना, परिवेशले आवश्यकता बढाएको छ, उनले भने ।
स्थानीय र प्रदेश सरकारले यस्ता आश्रमका लागि बेलाबेला दिवा खाजादेखि अनुदान रकम प्रदान गरिरहेको छ । केही समयअघि प्रदेश सरकारले उपलब्ध गराएको रु नौ लाखले ट्रस निर्माण गरेपछि रामजानकी वृद्धाश्रममा वर्षामा पानी चुहिने समस्या समाधान भएको छ ।
शिक्षक पेसाबाट अवकाश भएपछि २०६० सालमा विराटेश्वर वृद्धाश्रम सेवा समिति खोलेर सञ्चालन गर्दै आउनुभएका जगत अर्याल पछिल्लो समय वृद्धवृद्धाहरू घरबासविहीन हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
वृद्धवृद्धाका दिनहरू सम्मानपूर्वक र शान्तिका साथ बिताउन सक्नेगरी सेवा गर्न पाऊँ भनी यो आश्रम स्थापना गरी सञ्चालन गर्दै आइरहेको छु, उनले भने । यो आश्रममा अहिले ६० जनाभन्दा बढी वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । अहिले रामजानकी आश्रममा रहेका आमाहरूको मनोबल बढाउन आश्रममा मन्दिर र ध्यान केन्द्र बनाइएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको विवरणअनुसार कोशी प्रदेशमा ज्येष्ठ नागरिकको सङ्ख्या पाँच लाख ५६ हजार ४६४ अर्थात् प्रदेशको ११.२२ प्रतिशत रहेको छ । प्रदेश सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट आर्थिक वर्ष २०८१/८२ मा ज्येष्ठ नागरिकका लागि एक करोड आठ लाख रुपैयाँ बजेट विनियोजन गरी खर्च गरिरहेको छ । रासस
प्रतिक्रिया