आजकै दिन १९८ वर्ष अगाडि बनाइएको स्तम्भ (धरहरा)

भिमसेन थापाले वि.सं. १८८१ मंसिरमा आफ्नो बागदरवारको नजिकै धरहरा बनाइ त्यस धरहरामा गजुर चढाएका थिए । पछि १८८२ चैत सुदि १२ रोज ४ अर्थात् वि.सं. १८८३ वैशाख ९ गते बुधवारमा रानी ललित त्रीपुरासुन्दरीको नाममा पनि अर्को धरहरा वसुन्धरा नजिकै तैयार गराएर त्यस धरहरामा पनि गजुर चढाइएको थियो । यो धरहरा सम्बन्धमा अभिलेख यस प्रकारको लेखिएको छ, संवत् १८८२ साल चैत सुदी १२ रोज ४ मा श्रीश्रीश्वीमल्ललित त्रिपुरसुन्दरीदेवीबाट बनाइबक्सेको ।
तर यि दुबै धरहरा वि.सं. १८९० को भूकम्पमा भत्किए । पहिलो धरहरा जुन भिमसेन थापाले आफ्नै नाममा बागदरवार नजिकै बनाएका थिए त्यो धरहरा भिमसेन थापाले पूनर्निर्माण नै गराएनन् । तर रानी ललित त्रीपुरासुन्दरीको नामको धरहरा जुन बिच भागबाट दुइ टुक्रा भएको थियो यसलाई भने भीमसेन थापाले नै जिर्णोद्वार गराइ दिएका थिए । रानीको नामको धरहरा पुनर्निर्माण भिमसेन थापा आफैले गराइदिए पनि सो धरहरालाई रानी स्वयंले भिमसेन स्तम्भको रुपमा स्विकार्न लगाएका थिए जसले गर्दा सर्वसाधारणले पनि नयाँ धरहरालाई भीमसेन स्तम्भको नामबाट चिन्न थाले ।
१८९० को भूकम्प पछि पूनर्निर्माण गराएर ११ तलाको बनाइएको धरहरा पनि वि.सं. १९९० को भूकम्पमा फेरी ध्वस्त भयो । त्यतिबेलाका श्री ३ महाराजा जुद्धशम्शेरले पूननिर्माण गराएर ९ तलाको धरहरामा बरण्डा पनि बनाइदिएका थिए । यो धरहरा वि.स.१९९० साल माघ २ गते (माघ कृष्ण ३०) सोमबारको भीषण भूकम्पले भत्कि विग्री दुई तलासम्म पुरानो बाँकी भएकोमा अरु तला उठाई बनाई श्री ३ महाराज जुद्धशमशेर जङ्गबहादुर राणाबाट वि.स.१९९२ सालमा जीर्णोद्धार गरिबक्सिएको .. शुभम् ..
यसरी दुइ तला कम भए पनि धरहरा अझ आकर्षक बनाइएको थियो । जुन पून वि.सं. २०७२ सालको भूकम्पले फेरी यो धरहरा पनि ध्वस्त भयो । निकै लामो समय पछि धरहरा पूनर्निर्माणका नाममा अहिले भने अरबौ रुपैया खर्चेर धरहरा होइन टावर बनाइएको छ ।
साथमा राखिएको तस्बिर भने वि.सं. १९७७ सालमा दिर्घमान चित्रकारले खिचेका थिए । यसमा भूकम्पले ध्वस्त हुनु अगाडीको ११ तलाको धरहरा देख्न सकिन्छ ।
प्रतिक्रिया