मंगलबार, वैशाख ९, २०८२

भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२ मा हुँदै

नेपालखोज २०८२ वैशाख ९ गते १९:४१

काठमाडौं । ‘नेपाली वस्तुको प्रवर्द्धन, समृद्ध नेपाल निर्माण’ भन्ने मुख्य नारासहित १०औँ’ नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२’ आयोजना गरिने भएको छ ।

यही वैशाख २५ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपीसी), ललितपुर उद्योग वाणिज्य सङ्घ, नेपाल हस्तकला महासङ्घको सहकार्यमा मेला आयोजना गरिँदै छ ।

आयोजकका अनुसार मेलामा नेपालसँगै मुख्यगरी चीन, भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्यान्डलगायत देशका उद्योगी–व्यवसायीहरू सहभागी हुनेछन् ।

यो वर्षको मेलामा स्वदेशी तथा विदेशी गरी २५० भन्दा बढी स्टल राखिनेछन्, जहाँ विभिन्न वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछन् । आयोजकहरूले २० हजारभन्दा बढी अवलोकनकर्ता मेलामा आउने अपेक्षा राखेको छ ।

महासङ्घका अनुसार मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन निर्माण, व्यावसायिक शिक्षा तथा विद्युतीय सवारीसाधनजस्ता विभिन्न क्षेत्रका सामग्री प्रदर्शित हुनेछन् ।

साथै, मेलाका अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट, द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीका सम्भावनामा पनि छलफल हुनेछ ।

मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पहिचान दिलाउने र विदेशी लगानी तथा प्रविधि भित्र्याउन सघाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया