इथियोपियामा खाद्य संकट गहिरिँदै, डब्लुएफपीको कार्यक्रम रोकियो

अडिस अबाबा । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले (डब्लुएफपी) इथियोपियामा रहेका ६ लाख ५० हजार कुपोषित महिला र बालबालिकालाई प्रदान गर्दै आएको खाद्य सहायता आर्थिक अभावका कारण आगामी मेइ महिनाबाट रोक्नुपर्ने जानकारी गराएको छ ।
जेन्सीले भनेको छ, ‘यदि चाँडै आर्थिक सहयोग प्राप्त भएन भने करिब ३६ लाख मानिसहरू आगामी केही साताभित्र सहायता पाउनबाट बञ्चित हुनेछन्।’ डब्लुएफपीले सन् २०२५ मा २० लाख आमा र बालबालिकालाई पोषण सहायता पुर्याउने लक्ष्य लिएको थियो । तर हाल सहयोग घट्दै गएकाले उक्त योजना प्रभावित भएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि तीन महिनाका लागि सबै प्रकारका वैदेशिक सहायता रोक्ने आदेश दिएपछि डब्लुएफपीसहितका अन्तर्राष्ट्रिय सहयोग संस्थाहरू आर्थिक अभावमा परेका छन् । यस्तै, अन्य केही पश्चिमी मुलुकहरूले पनि सहयोग घटाएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार झन्डै १३ करोड जनसंख्या भएको इथियोपियामा एक करोडभन्दा बढी मानिसहरू भोकमरीको जोखिममा छन् । टिग्रे क्षेत्रमा भएको गृहयुद्धका कारण लाखौँ मानिसको ज्यान गएको थियो भने करिब १० लाख मानिस अझै विस्थापित छन् । अम्हारा र ओरोमिया प्रदेशमा जारी हिंसाका कारण पनि सयौँ हजार मानिस विस्थापित भएका छन्।
साथै, छिमेकी मुलुकहरू सुडान र दक्षिण सुडानबाट युध्दका कारण हजारौ| शरणार्थी इथियोपियामा भित्रिँदै गर्दा अवस्था थप जटिल बन्दै गएको छ ।
डब्लुएफपीले चेतावनी दिएको छ कि आवश्यक रकम समयमै जुट्न सकेन भने आगामी असार महिनाबाट झन्डै १० लाख शरणार्थीलाई दिइँदै आएको खाद्य तथा नगद सहायता पनि रोक्नुपर्ने हुन सक्छ । रासस/एएफपी
प्रतिक्रिया