मंगलबार, वैशाख ९, २०८२

‘एचपीभी खोपका लागि अभिभावकमा सचेतना आवश्यक’

नेपालखोज २०८२ वैशाख ९ गते २२:०६

मोरङ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपका लागि अभिभावकमा सचेतना आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् ।

प्रदेश खोप समन्वय समितिले आज विराटनगरमा आयोजना गरेको हालै सम्पन्न एचपीभी खोप कार्यक्रमको समीक्षा कार्यक्रममा उनीहरूले अभिभावक सचेत नभएसम्म खोप कार्यक्रम प्रभावकारी नहुने बताए ।

सहभागीहरूले एचपिभी खोप कार्यक्रम विद्यालयस्तरमा सञ्चालन गरिने हुँदा अभिभावकले बालबालिकाको सहभागिताका लागि अनुमति नदिँदा समस्या हुने गरेको धारणा राखे ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव राधिका थपलियाले खोपमा समन्वय आवश्यक रहेको बताए । गत फागुन २२ देखि प्रदेशमा सुरु भएको एचपिभी खोप अभियानमा ८७ प्रतिशतमा खोप पहुँच रहेको उनले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले खोप कार्यक्रम सफल भए पनि प्रभावकारी सञ्चालनका लागि स्थानीयस्तरमा सचेतना आवश्यक देखिएको बताए । निर्देशक बस्नेतले ‘खोज र खोप लगाउ’ मुख्य नारासहित वैशाख महिनालाई खोप महिनाका रूपमा मनाइने घोषणा गरिएको बताए ।

निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले नेपालमा राष्ट्रिय खोप ऐन २०७२ अनुसार खोप कार्यक्रम व्यवस्थित गरिएको तर यसबारे स्थानीयस्तरसम्म सचेतना बढाउनुपर्ने महसुस भएको धारणा राखे । विश्व स्वास्थ्य सङ्गठनका डा पवन उपाध्यायले सङ्क्रमणकालीन पोलियो योजना २०७९–२०८६ कार्यान्वयनमा रहेको उल्लेख गरे ।

एचपिभी खोप अभियानका क्रममा मोरङ र सुनसरीजस्ता सहरी क्षेत्रमा बढी समस्या देखिएको तर पहाडी र हिमाली जिल्लामा खोप कार्यक्रम सञ्चालनमा कुनै समस्या नभएको कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया