बुधबार, वैशाख १०, २०८२

‘लैङ्गिक समानताका लागि सक्रियताका साथ काम भइरहेको छ’

नेपालखोज २०८२ वैशाख १० गते १४:४१

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले लैङ्गिक समानताको विकास गर्दै राज्यको मूलधारमा पर्न नसकेका, पिछडिएका वर्ग तथा समुदायका महिलाको उत्थानका लागि सरकारले सक्रियताका साथ काम गरिरहेको बताएका छन् ।

‘समलैङ्गिक दृश्यता दिवस–२०२५’ को अवसरमा मितिनी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको विकास र सशक्तीकरणका लागि वार्षिक बजेटमा रकम विनियोजन गरी योजना तथा कार्यक्रममा समेटेर काम भइरहेको उल्लेख गरे ।

उनले ‘समलैङ्गिक दृश्यता दिवस’ का अवसरमा शुभकामना व्यक्त गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशकभन्दा बढी भए पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका समलिङ्गी, द्वयलिङ्गी र क्वेर महिलाका विषय अझै ओझेलमा परेका बताए ।

मितिनी नेपालले प्रकाशन गरेको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको महिलाका रूपमा पहिचान गर्ने ११ वटा प्रेरणादायी कथा समेटिएको पुस्तक ‘जीवन परिवर्तनको आँधी’ को विमोचन गर्दै मन्त्री सुडीले महिलावादी आन्दोलनमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई प्राथमिकता दिएर छलफल नभएको बताए ।

प्रतिक्रिया