‘ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नरहेको जनाएको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक रुपमा वर्तमान सरकारले बैधानिकता गुमाइसकेकाले आफ्नो औचित्य स्थापीत गर्न पूर्णत: असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको बताए ।
उहाले वर्तमान गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता बिपरित बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको जिकिर गरे ।
त्यस्तै माओवादीले प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचार विरोधी अभियानलाई उल्टाउने मात्रै नभइ सुशासन कायम गर्न लागेका अधिकारीलाइ छानी छानी दण्डित गर्ने काम सरकारले गरेको जनाएको छ । प्रवक्ता सापकोटाले आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने र बिपक्षप्रति सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारवाहीको श्रृखला नै खडा गरिएको बताए ।
उनले वर्तमान सरकारले गरेका निर्णय सवै बिचौलियाहरुको स्वार्थमा जनहित र राष्ट्रहित बिपरित रहेको उल्लेख गरे ।
प्रतिक्रिया