सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा विटमा कार्यरत पत्रकारसँगको भेटमा उनले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न आग्रह गरे ।
सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गरेका छन् । फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ । आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ, सञ्चारकर्मीको जिज्ञाशामा उनले भने ।
गृहमन्त्रीले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे । उनले कानुनी र नीतिगत सुधारलाई पनि आफूले सँगसँगै अघि बढाइरहेको बताए । नीतिगत र कानुनी सुधार आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्दै मन्त्री लेखकले नीतिगत सुधार नभएसम्म सुशासनको कल्पना गर्न नसकिने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन छलफलका लागि संसदीय समितिमा पुगिसकेका जानकारी दिँदै उनले मन्त्रालय जग्गा प्राप्ति, संस्था दर्ता र समाज कल्याणसम्बन्धी ऐन परिमार्जनको तयारीमा जुटेको बताए ।
हज र नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पुगेको छ, कारागारसम्बन्धी नियमावली आजै मन्त्रिपरिषद्मा लैजाने गरी निर्णय भएको छ, उनले भने, अन्य महत्वपूर्ण कानुन चाँडै संसद्मा लगिनेछ । अध्यागमन प्रशासनलाई सुधार गर्न छुट्टै मापदण्ड बनाउन आफूले निर्देशन दिएको उल्लेख गर्दै पछिल्ला समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हुँदै आएको सेवा प्रवाहमा सुधार आएको स्पष्ट पारे ।
प्रतिक्रिया