बुधबार, वैशाख १०, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

नेपालखोज २०८२ वैशाख १० गते १६:२६

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ भन्सार कार्यालय अगाडिबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६६ मिलिग्रामसहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका-४ बस्ने २७ वर्षीय राजन बास्तोला, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-६ बस्ने २० वर्षीय अनोज कुमार उराव, सोही नगरपालिका-३ बस्ने २५ वर्षीय अनोज रूपेश कुमार यादव, इटहरी उपमहानगरपालिका–१७ भाटभटेनी बस्ने २० वर्षीय मो. समिर खान र २० वर्षीय राजेश पुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनकुटाको धनकुटा नगरपालिका–७ त्रिवेणी बस्ने ५३ वर्षीया अन्जना तामाङ र सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका २२ वर्षीय मनिस धामीलाई नियन्त्रित लागूऔषध स्पासरेस्ट ४५ ट्याब्लेट, ट्रामाडोल २ सय ५५ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले अन्जनाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यसैगरी धनकुटाको धनकुटा नगरपालिका–७ बस्ने १९ वर्षीय ओम तामाङलाई नियन्त्रित लागूऔषध स्पासरेस्ट २ सय ५५ ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र स्पासमिड ७ ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका–७ लेउती खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोही गाउँपालिका–१ बस्ने २० वर्षीय अबि तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले मुलघाटबाट धरानतर्फ जाँदै गरेको बा.७३ प ३९१५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

धनुषाको विदेह नगरपालिका–१ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय ओमराज शर्मा र महोत्तरी लोहरपट्टी नगरपालिका–७ घर भएका २३ वर्षीय रूपेश कुमार ठाकुर रहेका छन् । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज. १३ प १३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

काभ्रेको नमोबुद्ध नगरपालिका–७ नौबिसेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८७ ट्याब्लेट, नाईट्राजेपाम ६३ एम्पुल, डाईजेपाम २ एम्पुल, नोर्फिन २ एम्पुल र अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित सोही नगरपालिका–४ घर भई भक्तपुर बोडे बस्ने २२ वर्षीय प्रदिप दर्जी समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भकुण्डेबेशीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको कैलारी गाउँपालिका–१ हसुलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–७ बस्ने २३ वर्षीय आशिष कुमार चौधरी र धनगढी उपमहानगरपालिका–१ शिव मन्दिर बस्ने २७ वर्षीय अजय रसायली रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङको लमही नगरपालिका–५ स्थित लमही बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–८ घर भई सोही नगरपालिका–६ गंगटीखोला बस्ने २४ वर्षीय दिपेश चौधरी र घोराही उपमहानगरपालिका–१५ भरतपुर टोल बस्ने प्युठान माण्डवी गाउँपालिका–३ घर भएका २३ वर्षीय राजु थापा रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही नगरपालिका–३ भासी बस्ने २७ वर्षीय अजय घिमिरेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय महेश लामिछाने र रूपन्देही मायादेवी गाउँपालिका–८ बस्ने २६ वर्षीय अमन सुनार रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले सोही ठाउँस्थित द होटल अल्ट्राको कोठा नम्बर ४०१ मा बसेका उनीहरूलाई ८ सय मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो । साथै उनीहरूले प्रयोग गरेको लु.४९ प ९९७ नम्बरको मोटरसाइकलको भाइजरमा लुकाई राखेको अवस्थामा थप १ ग्राम ५ सय १० मिलिग्राम उक्त पदार्थ फेला परेको हो ।

यसैगरी रूपन्देही, ओमसतिया गाउँपालिका–१ बालापुर डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-६ बस्ने २५ वर्षीय रिन्कु हरिजनलाई लागूऔषध गाँजा करिब ५ किलो ३ सय ग्राम र डिजिटल तराजु १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया