कर्णाली प्रदेशका आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशका खानेपानीका आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने बताएकाछन् ।
मंगलबार सिंहदरबारस्थित राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी विषयमा खानेपानी मन्त्रालयबाट हालसम्म भएका कार्य, प्रगति विवरण तथा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे विस्तृत छलफलमा उनले याे कुरा बताएका हुन ।
मन्त्री यादवले जनतालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु सरकारको मुख्य प्राथमिकता भएकाले यस पटकको खानेपानी बजेटमा दुर्गम तथा पिछडिएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखि विनियोजन गरिने बताए ।
फिनल्याण्ड सरकार, स्थानीय सरकार तथा खानेपानी मन्त्रालयको समन्वयमा सुस्वाले कर्णालीका दश जिल्लामा खानेपानीका क्षेत्रहरूमा काम गरिरहेको उल्लेख गर्नु हुँदै आगामी योजनामा कर्णाली प्रदेशका आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने प्रतिवद्धता व्यक्त गरे ।
आगामी बजेटमा कर्णाली प्रदेशका जनतालाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन विशेष योजना निर्माण गरी त्यसलाई कार्यान्वयन गरिने समेत उनको भनाई थियो । समितिका सदस्यले उठाउनुभएको प्रश्नको उत्तर दिँदै, मन्त्री यादवले आफुले मन्त्रालय सम्हालेपछि रोकिएका थुप्रै बिस्तृत अध्यन सर्वेक्षण (डिपीआर) आयोजना, खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याइएको र हालसम्म ९८ प्रतिशत नेपाली जनतालाई आधारभुत खानेपानी उपलब्ध गराइएको जानकारी गराए ।
मन्त्री यादवले बबरमहलमा केही महिला पहिले खानेपानीको फुटेको पाइपका विषयमा छानबिन समिति बनाइएको र पाइपको गुणस्तर जाँच्ने प्रविधि नेपालमा नहुँदा समस्या भएको बताए । पाइपको गुणस्तरको जाँचका लागि भारत पठाउदा सीमामा नै रोकिएको उनले गुनासो गरे । खानेपानीमा तीनै तहको सरकार मिलेर शतप्रतिशत लगानी राज्यले गर्ने मन्त्री यादवले उनले उल्लेख गरे ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा पानीको समस्या नभएको तर शुद्ध पानीको समस्या हुने गरेकाले हरेक नागरिकलाई शुद्ध पानी वितरणका लागि सरकारले विषेश योजना एवं खानेपानीलाई व्यवस्थीत बनाउनु पर्ने तथा देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुपर्ने धारणा राखे ।
व्यक्तिगत जमिन राख्ने व्यवस्था सदाका लागि अन्त्य गर्नुपर्ने उनले जिकिर गरे । यसैगरी सांसद झक्कुप्रसाद सुबेदीले मानव जिवनमा खानेपानी सबै भन्दा महत्वपूर्ण चिज भएकाले सरकारले नागरिकका पानीका समस्याका विषयमा ध्यान दिनु जरुरी भएको बताए ।
प्रतिक्रिया