भूमिहीनका समस्या समाधान गर्न सहजीकरण समिति

बैतडी । भूमि समस्या समाधान गर्न बैतडीका दुई स्थानीय तहमा स्थानीय सहजीकरण समिति गठन भएका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समितिले यहाँका स्थानीय तहमा सहजीकरण समिति गठन गरेको हो ।
जिल्लाको पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा समिति गठन गरिएका भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष रमेश पाण्डेयले बताए । उनले भने, भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि पालिकाहरुसँगको समन्वयमा स्थानीय सहजीकरण समिति गठन गरेका हौँ।
सम्बन्धित पालिका प्रमुख संयोजक रहने समितिमा उपप्रमुख सहसंयोजक रहने व्यवस्था छ । पालिकाभित्र रहेका राष्ट्रिय राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षलगायत अन्य सरोकारवाला समितिमा सदस्य रहने व्यवस्था रहेको छ । समितिले पालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको पहिचान गरेर प्रमाणीकरणका लागि सम्बन्धित कार्यपालिकाबाट निर्णय गराउने जनाइएको छ ।
यसैबीच, दोगडाकेदार गाउँपालिकाबाहेक बैतडीका नौ स्थानीय तहमा भूमि शाखा गठन गरिएको छ । स्थानीय तहमा कार्यरत शाखा अधिकृतलाई उक्त शाखाको जिम्मेवारी दिएर काम अघि बढिरहेको भूमि समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ । जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नेछ ।
प्रतिक्रिया