बिहीबार, वैशाख ११, २०८२

‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’

नेपालखोज २०८२ वैशाख ११ गते १४:१२

पाटन (ललितपुर) । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास, निर्माणमा जोड दिनुपर्ने भन्दै सोही अनुसार काम गर्न आग्रह गरेका छन् ।

सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आज ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले निर्माण हुने संरचना र विकासका आयोजनासम्बन्धी योजना बनाउँदा राष्ट्रि र जनताका आवश्यकता बुझेर सकरात्मक परिवर्तनमा लाग्नुपर्ने बताए । उनले नवप्रवर्तन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेख्य प्रतिफल आउने धारणा राखे ।

लोकतान्त्रिक मूल्य, मान्यता अनुसार शासन प्रणाली स्थापित नभएसम्म नेपालीको भविष्य सुनिश्चित हुँदैन भनेर २०४६ र २०६२र६३ को परिवर्तन ल्याएका हौँ । प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थायित्व र स्थिरताका लागि आर्थिक समृद्धितर्फ सबैले ध्यान दिनु जरुरी छ र यसका सबै सबै राजनीतिक दलले आ–आफ्नो कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्छ, कानुनी रूपमा भएका समस्या छलफलबाट समाधान गरौँ । प्राप्त गणतन्त्रको अधिकारलाई सुरक्षित गर्दै दिगो विकास र जिम्मेवारीपूर्ण कामका लागि ध्यान दिनुपर्छ, उनले भने ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सरोकार भएका सबैले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । यसका लागि समयसापेक्ष कानुन बनाउँदै समस्या समाधान गर्नुपर्ने भन्दै सरकार आवश्यकताका आधारमा छलफलबाट बाधक भएका कानुन संशोधन गर्न तयार रहेको बताए ।

प्रतिक्रिया