अपर पाँचौं जलविद्युत् आयोजनाले स्थानीयलाई थर्काउन थालेपछि…

काठमाडौं । जिल्लाको बिगु गाउँपालिका-४ लादुकको सुरीटारमा निर्माणाधीन अपर पाँचौं जलविद्युत् आयोजनाले आयोजनास्थल वरपरका स्थानीयवासीलाई धम्क्याउने र थर्काउने गरेको पाइएको छ । बिगु गाउँपालिका-१ लामाबगरस्थित गोंगरका क्रसरपीडित आन्दोलित स्थानीयले बुधबार जारी गरेको एक विज्ञप्ति अनुसार आयोजनाले स्थानीयलाई धम्क्याउने र थर्काउने गरेको पाइएको हो ।
‘तामाकोशी पाँचौं आयोजनाले स्थानीयका जायज माग सम्बोधन गर्नुको साटो क्रसर प्लान्ट पीडित आन्दोलित हामी स्थानीयलाई आयोजनाले अमुक शक्ति प्रयोग गरी थर्काउने, धम्क्याउने र जायज मागलाई नाजायज हो भनी परिभाषित गर्न चलखेल गरेकोप्रति यस गोंगर बजारका क्रसर पीडित स्थानीय बासिन्दाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । आयोजनाले सञ्चालन गरेको क्रसर प्लान्टबाट प्रत्यक्ष प्रभावित स्थानीयले राखेका विभिन्न माग पूरा गर्न छोडेर आयोजनाले स्थानीयलाई धम्क्याएर काबुमा राख्न खोजेको आरोप उनीहरूको छ ।
आयोजनाले यस्ता हर्कतले स्थानीयलाई थप आक्रोशित र उत्तेजित बनाइरहेको भन्दै उनीहरूले खराब परिस्थिति सृजना हुनसक्ने चेतावनी समेत दिएका छन् । ‘आयोजनाको यस्ता हर्कतले स्थानीय झनै उत्तेजित/आक्राशित भइरहेका छन् । यस्तै हर्कत आयोजनाले जारी राखे त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार आयोजना हुनुपर्ने जानकारी गराईन्छ,’ उनीहरूले भनेका छन् ।
स्थानीयको माग पूरा नगरेको भन्दै पीडितहरूले वैशाख ३ गतेदेखि आयोजनाको क्रसर प्लान्टका सम्पूर्ण कामहरू ठप्प पारेका छन् । क्रसर पीडित स्थानीयको माग पूरा नगरेसम्म आन्दोलनका कार्यक्रम निरन्तर जारी राख्ने संघर्ष समितिका संयोजक डिल्ली बहादुर मगरले जानकारी दिए ।
स्थानीयहरूले क्रसर सञ्चालनबाट वातावरण तथा स्थानीय बासिन्दाको स्वास्थ्यमा परेको समस्याको समाधान, स्थानीयको निजी आवासमा परेको/परिरहने क्षति/असरको उचित क्षतिपूर्ति, क्रसरपीडित स्थानीयलाई रोजगारी, गोंगर बजारलाई नदीबाट सुरक्षाका लागि तामाकोशी नदीमा तटबन्धन, गोंगर बजारदेखि क्रसर प्लान्ट रहेको स्थानसम्म (करिब १ किमि) सडक ढलान, गोंगर बजारका लागि खानेपानीको व्यवस्थालगायतको माग राखेका छन् ।
उल्लेखित मागका सम्बन्धमा आयोजनाले गत चैत २१ गते स्थानीयसँग सहमति जनाएको थियो । माग पूरा गर्न आयोजना स्वयम्ले एक हप्ताको समय मागेको थियो । तर, समयावधि सकिँदासम्म पनि स्थानीयको माग पूरा गर्ने विषयमा आयोजना इमानदार नभएको भन्दै उनी आन्दोलित बनेका हुन् ।
प्रतिक्रिया