बिहीबार, वैशाख ११, २०८२

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

नेपालखोज २०८२ वैशाख ११ गते १५:४२

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्नेमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । १९औँ लोकतन्त्र दिवसका अवसरमा आज पोखरामा आयोजित ‘लोकतन्त्रको सवाल, चुनौती र सवलीकरण’ विषयक अन्तरसम्वादमा उनीहरुले लोकतन्त्र प्राप्त गरेर मात्र नहुने त्यो जीवन पद्धति, व्यवहार र आचरणमा झल्कनुपर्ने बताए ।

गैरसरकारी संस्था महासङ्घ, गण्डकीका पूर्वअध्यक्ष रामप्रसाद सुवेदीले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दल र नागरिक समाज एकजुट हुनुपर्ने धारणा राखे । प्रभावकारी सेवा प्रवाह, संस्थागत संरचना विकास, पारदर्शी र जवाफदेही शासन सञ्चालनले लोकतन्त्रलाई सुदृढ पार्छ, उनले भने, राजनीतिक दल सच्चिन तयार रहनुपर्छ, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, अराजकतालाई लोकतन्त्रले माफ गर्दैन ।

जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति, कास्कीका अध्यक्ष शेखर गौतमले लोकतन्त्र वंशका आधारमा नभइ कर्म र प्रतिस्पर्धाबाट शासन गर्ने व्यवस्था भएको बताए । लोकतन्त्रको विकल्प अझ सबल र सुदृढ लोकतन्त्र रहेको उनको भनाइ छ । अहिलेको व्यवस्थामा पनि स्वाभाविक रूपमा गुनासा र असन्तुष्टी छन्, तिनका समाधानका लागि राजनीतिक दल र राज्य संयन्त्र जवाफदेही बन्नैपर्छ, दलले आफ्नो चरित्र र आचरणलाई सुधार्नु जरुरी छ, अध्यक्ष गौतमले भने, लोकतान्त्रिक व्यवस्थाको विकल्प फेरि पनि लोकतन्त्र नै हो, अरु कुनै व्यवस्थाको यहाँ गुञ्जायस छैन ।

गणेशमान सिँह फाउण्डेशनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले राजनीतिक दलमा विकृति मौलाउँदै गएकाले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठेको बताए । राष्ट्रिय जनमोर्चा, गण्डकीका अध्यक्ष शङ्कर बरालले लोकतन्त्र ल्याउन सङ्घर्ष गरेका राजनीतिक दलले लोकतान्त्रिक आचारण भने देखाउन नसकेको टिप्पणी गर्नुभयो । नेकपा (एकीकृत समाजवादी), गण्डकीका अध्यक्ष कृष्ण नेपालीले राजनीतिक दल र राज्य सञ्चालमा लोकतान्त्रिक चरित्र चाहिने बताए ।

नेकपा (माओवादी केन्द्र), कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जनयुद्ध र जनआन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए । नेकपा (एमाले), गण्डकीका अध्यक्ष नवराज शर्माले राजनीतिक दलले सुध्रने आँट गर्नुपर्ने बताए । उनले नागरिकलाई संविधानप्रदत्त अधिकारको प्रत्याभूति दिनु राज्यको दायित्य भएको बताए । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले जनताको विश्वासमा लोकतन्त्र टिक्ने भएकाले शासन सञ्चालन पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिए । लोकतन्त्र दिवसका अवसरमा आजै प्रभातफेरिसमेत गरिएको थियो ।

प्रतिक्रिया