बिहीबार, वैशाख ११, २०८२

लागूऔषधसहित आठ जना पक्राउ

नेपालखोज २०८२ वैशाख ११ गते २०:०३

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २५० मिलिग्राम सहित बेदकोट नगरपालिका-६ लालपुर बस्ने २६ वर्षीय अबिशेक धामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सल्लेघारीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बादल बादी, २५ वर्षीय मदन बादी र २७ वर्षीय यन बहादुर बादी रहेका छन् । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५७ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका-७ बेनौली बस्ने २४ वर्षीय जयनाथ पासवान र २३ वर्षीय सुनिल पटेल रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा सिम्रौनगढबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको बर्नटमा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी गाडीका चालक पासवान र सहचालक पटेललाई पक्राउ गरेको हो ।

रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-३ भलाचौरस्थित सडकबाट लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलोग्राम र नगद ७८ हजार ३ सय ५ रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ७२ वर्षीय अनन्ते पुन र कैलाली घर भएका ३६ वर्षीय कमल थापा रहेका छन् । प्रहरी चौकी सिम्लिबाट खटिएको प्रहरीले रा.४ प १११० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया