बिहीबार, वैशाख ११, २०८२

‘राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा’

नेपालखोज २०८२ वैशाख ११ गते १८:२६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली जनतालाई खुसी बनाउने र राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् ।

एमालेले लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गर्दै राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा भएको बताए ।

देशमा राजनीतिक अस्थिरता हुँदा पनि मुलुक निर्माणले गति लिन नसकेको उल्लेख गर्दै उनले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक रहेको बताए ।

आगामी आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने जानकारी दिँदै उनले वर्तमान प्रधानमन्त्रीको युवाप्रतिको अगाध स्नेह रहेको बताए ।

महासचिव पोखरेलले एमालेलाई शिक्षक र कर्मचारी विरोधी भनेर प्रचार गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै उनले जनताको पक्षमा काम गर्नेमाथि भरोसा गर्न आग्रह गरे ।

देशका दुई ठूला पार्टी मिलेर अहिले दशलाई अघि बढाउने प्रयत्न गरिरहेको र अहिले दुई वटा पार्टी मिलेकाले धेरै ऐनहरू अघि बढाएको हुनाले हरेकले विश्वास र भरोसा गर्न आग्रह गरे । आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदैछन् भन्ने भ्रमलाई चिरेको भन्दै देशभरका युवा नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनुपर्ने भनाइ उनले राखे ।

प्रतिक्रिया