‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’

भक्तपुर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनआन्दोलनबाट प्राप्त जनताको अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका छन् ।
आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसका समाजवादी नेता जगन्नाथ आचार्यको १०२औँ जन्मजयन्ती कार्यक्रममा उनले अधिकार प्राप्तिका लागि कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा उभिएर आन्दोलन गरे जस्तै उपलब्धि रक्षाका लागि पनि सबै दल एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको बताए ।
उनले जगन्नाथ आचार्यको राजनीतिक योगदानको चर्चा गर्दै २०४६ सालको जनआन्दोलनपछि गणेशमान सिंहले प्राप्त प्रजातन्त्रलाई सही बाटोमा लैजान सुरु गरेको जनजागरण अभियानमा आफूले संयोजक भएर काम गरेको स्मरण गरे । कार्यक्रममा नेताहरु ढुण्डराज शास्त्री, तिलकप्रकाश कायस्थ, गोविन्द जोशीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल तरुण दलका पूर्वध्यक्ष विनोद कायस्थले जगन्नाथ आचार्यले प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको चर्चा गर्दै उनले देखाएको बाटोलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए । आचार्य प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विनोद आचार्यले जगन्नाथ आचार्यले राजनीतिक परिवर्तनका लागि सिङ्गो जीवन आहुति दिएको चर्चा गरे ।
प्रतिक्रिया