बिहीबार, वैशाख ११, २०८२

ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का

नेपालखोज २०८२ वैशाख ११ गते २२:०६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने बताएका छन् ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरुसँग आज ऊर्जा मन्त्रालयमा छलफल गर्दै मन्त्री खड्काले कार्बन उत्सर्जन न्यूनीकरणमा ग्रीन हाइड्रोजनको महत्वपूर्ण भूमिका भएकाले यसलाई कार्यविधि बनाएर अगाडि बढाउने बताए ।

मन्त्री खड्काले वातावरण संरक्षण तथा शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य हासिल गर्न ग्रीन हाइड्रोजनको उपयोग अपरिहार्य रहेको उल्लेख गरे ।

छलफलमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरी अनुसन्धान अगाडि बढाइरहेको बताए । उनले वातावरणमैत्री प्रविधिको प्रयोगले इँटाभट्टा र केमिकलजन्य उद्योगबाट हुने प्रदूषण कम गर्न सकिनेमा जोड दिए ।

सिँचाइ सचिव सरिता दवाडीले नीति निर्माण भइसकेको र अब कानुनी तथा संस्थागत संरचना तयार पार्दै कार्यान्वयनमा लैजाने बताए । उनले अन्तरमन्त्रालय समन्वयमा सरकार आवश्यक कानुनी प्रबन्ध गर्न तत्पर रहेको स्पष्ट पारे ।

प्रतिक्रिया