आइतबार, वैशाख ७, २०८२

सामसङले नेपाली बजारमा जुलाई पहिलो साता नयाँ मोडलका स्मार्टफोन भित्र्याउँदै

नेपालखोज २०७८ असार ८ गते १०:३६

काठमाडौं । सामसङले नेपाली बजारमा जुलाईको पहिलो साता नयाँ मोडलका स्मार्टफोन भित्र्याउने तयारी गरेको छ । कम्पनीले ग्यालेक्सी एम सिरिजअन्तर्गत एम३२ र ग्यालेक्सी ए सिरिज अन्तर्गत ए२२ बजारमा भित्र्याउने तयारी गरेको हो ।

एम३२ मा २५ वाटको चार्जिङ सपोर्टसहित ६ हजार एमएएच ब्याट्री क्षमता दिइएको छ । कम्पनीले यो फोन डुअल ब्याण्ड वाईफाई (२ गिगाहर्ज र ५ गिगाहर्ज फ्रिक्वेन्सी) सहित निर्माण गरेको जनाएको छ ।

एन्ड्रोइड ११ मा चल्ने फोनमा ९० हर्जको रिफ्रेस रेटसहिट ६.४ इन्चको एमोलेड डिस्प्ले र ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, २० मेगापिक्सेलको सेल्फी क्यामेरा, मिडियाटेक हेलियो जी८० चिपसेट लगायतका मुख्य फिचर छन् ।

४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज र ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा यो फोन उपलब्ध हुनेछ । नेपाली बजारमा यो फोनको मूल्य २५ देखि ३० हजार रूपैयाँको बीचमा उपलब्ध हुने अनुमान गरिएको छ ।

त्यसैगरी कम्पनीले नेपाली बजारमा ग्यालेक्सी ए२२ पनि भित्र्याउने तयारी गरेको छ । तर फाइभजी वा फोरजी कुन भेरियन्ट उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । एन्ड्रोइड ११ मा चल्ने यो फोनमा ९० हर्ज रिफ्रेस रेट (फाइभजी) सहित ६.६ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । फोनको पछाडि ४८ मेगापिक्सेलको प्राइमेरी सेन्सरसहित चार वटा क्यामेरा सेटअप छ भने सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामेरा छ ।

त्यस्तै ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज, ४ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज र ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा यो फोन उपलब्ध हुनेछ ।

प्रतिक्रिया