अब ठोक्नुपर्छ

छन्द : इन्द्रवज्रा
हाम्रो जवानी पहिरो उछाल्ने
लाली छ यस्तो किन खेर फाल्ने ?
आशा सुनौलो रवि पोख्नुपर्छ,
यी देश द्रोही अब ठोक्नुपर्छ।।१।।
हेरेर बस्छौ रमिता कतिञ्जेल ?
सिञ्चिन्न माटो चुपचाप् बसुञ्जेल
भै क्रान्तिकारी बीउ रोप्नुपर्छ
मौका नगुम्दै अब ठोक्नुपर्छ।।२।।
तिम्रो नशामा पनि रक्त रातो
झट्का पसेको छ कि छैन तातो ?
वाचा उधारो लिन छोड्नुपर्छ
तात्ती रनक्कै अब ठोक्नुपर्छ।।३।।
थाके युवा देश भविष्य रून्छ
आजै नजागे कहिले उठिन्छ ?
आदर्श खोक्रा कति बोक्नुपर्छ ?
डाँका लुटेरा अब ठोक्नुपर्छ।।४।।
को आत्तिएको अनि मात्तिएको
सत्ता लुटाई मदमा डुबेको
ती भ्रष्टलाई खिल घोच्नुपर्छ
पाता कसेरै अब ठोक्नुपर्छ।।५।।
मात्रै तिमीले हतियार ताक्नू
हत्या र हिंसा नगिचै नपर्नू
सत्याग्रही बुझ्छ त सोच्नुपर्छ
सम्झे ठीकै, नत्र त ठोक्नुपर्छ।।६।।
पापी मरेमा अलि शान्ति बढ्छ
धोका दिनेका शिर झुक्नुपर्छ
आगो घमण्डी तिर झोस्नुपर्छ
लोभी र पापी अब ठोक्नुपर्छ।।७।।
चल्ला मुसाका दरबार छिर्छन्
रैती भनेरै घरबार छिन्छन्
त्यस्ता अधर्मीकन पोल्नुपर्छ
चेत्ने गरी बेस्सरी ठोक्नुपर्छ।।८।।
हाल : बेइजिङ
प्रतिक्रिया