बिहीबार, वैशाख ११, २०८२

कोरोनाका कारण यो साउनमा पनि पशुपति दर्शन गर्न नपाइने

साउनमा पशुपतिनाथको मन्दिरसहित देशका कैयन् प्रसिद्ध शिवालय खुल्ने सम्भावना क्षीण

नेपालखोज २०७८ असार २२ गते ६:४२

काठमाडौं । साउनमा बिशेषतः सोमबार पशुपतिमा जल चढाउने भक्तजनको भिड लाग्ने भए पनि यसपटक श्रद्धालुहरु उक्त अवसरबाट वञ्चित हुने सम्भावना छ । यो वर्षको साउन महिनामा पशुपतिनाथको मन्दिर खुला हुने सम्भावना निकै क्षीण भएको कुरा स्वयं पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना महामारी बढ्न थालेपछि गएको वैशाखको पहिलो सातादेखि पशुपतिनाथको मन्दिर बन्द छ । असारको दोस्रो सातादेखि लुज डाउन भन्दै विभिन्न क्षेत्र क्रमशः खोल्दै लगिए पनि धार्मिक स्थलहरु भने अझै खुला गरिएको छैन । गएको वर्षको साउनमा पनि कोरोना महामारीका कारण पशुपतिनाथको मन्दिर बन्द थियो ।

साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ । यो महिना भक्तहरुले विशेष रुपमा आराध्यदेव शिवको पूजा-आराधना एवं व्रत गर्छन् । साउनमा देशका विभिन्न भागका साथै भारतसहित अन्य देशका भक्तजन पशुपतिनाथको दर्शनका लागि काठमाडौं आउने गरेका छन्। बितेका केही वर्ष यता साउनको सोमबार सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथको मन्दिरमा चढाउने चलन समेत व्यापक हुँदै गएको थियो ।

अहिले पशुपतिनाथ मन्दिरमा नित्य पूजा आदि नियमित रुपमा भए पनि भक्तजनका लागि मन्दिर खुला नगरिएका कारण पशुपति क्षेत्र सुनसान जस्तै बनेको छ । गत वर्ष साउनमा भक्तजनले टाढैबाट पशुपतिनाथको दर्शन गरेका थिए । पोहोरको साउनमा त्यसरी पशुपतिनाथको दर्शन गर्नेहरुको भीड बाक्लै देखिन्थ्यो ।

साउनमा देशभरका शिवालयहरुमा भिड लागे पनि यो वर्ष अर्थात लगातार दोस्रो वर्ष पशुपतिनाथ सहित देशका अन्य प्रसिद्ध शिवालयहरु नखुल्ने कुराले तमाम भक्तजनलाई दुखि तुल्याएको छ ।

प्रतिक्रिया