बिहीबार, वैशाख ११, २०८२

वेदहरूको महत्त्व

नेपालखोज २०७८ असार २४ गते ५:०३

हिन्दु धर्म र संकृतिको मुल आधार नै वेद हो । वेद सबै भन्दा पुरानो धर्म–ग्रन्थ र हिन्दु धर्मको मुख्य आधार पनि हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्त्व छ ।

वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो । मानव–जाति र विशेषतः आर्य जातिले आफ्नो धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै थाहा पाउन सकिन्छ ।

आर्य–भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक भाषा धेरै अधिक सहायकसिद्ध भएको छ । वेद सनातन धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ मात्र होइन, मानव सभ्यताकै सबैभन्दा पुरानो पुस्तक पनि हो । वेद विद शब्दबाट बनेको हो, जसको अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने भन्ने बुझिन्छ । वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताको सबैभन्दा पुरानो लिखित दस्तावेज हो ।

वेदलाई श्रुति पनि भनिन्छ । ‘श्रु’ धातुबाट श्रुति बनेको छ । ‘श्रु’ अर्थात् सुन्नु भन्ने हो । यस्तो पनि भनिन्छ कि प्राचिन तपस्वीहरू गहिरो तपस्यामा लीन भइरहेको समयमा यी मन्त्रहरू उनीहरूलाई स्वयं ईश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम ईश्वरले चार जना ऋषिहरूलाई वेदको ज्ञान दिएः अग्नि, वायु, अंगिरा र आदित्य ।

वेद वैदिककालीन वाचिक परम्पराको अनुपम कृति हो, जुन पछिल्लो ६, ७ हजार इसापूर्वबाट चलिरहेको छ । विद्वानहरूले संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् यी चारको संयोगलाई वेद भनेका छन् । यी चार भागलाई संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदको संहिता भनेको मन्त्र हो । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् ।

वैदिक ऋषिहरू जब वेदको सस्वर पाठ गर्छन्, त्यो सुनेर चित्त प्रफुल्ल हुन्छ भन्ने मान्यता रहदै आएको छ । जसले सस्वर वेद पाठ सुन्छन्, ती पनि मुग्ध हुन्छन् । वेदको ब्राह्मण भागमा यज्ञको बारेमा चर्चा गरिएको छ । यसमा वेदका मन्त्रहरूको व्याख्या गरिएको छ ।

प्रतिक्रिया