सोमबार, वैशाख ८, २०८२

यसरी रह्यो मितेरी पुलको नाम !

सुनील उलक २०७८ असार २४ गते ८:५०

हजारौं वर्षदेखि सम्बन्ध रहँदै आएको नेपाल-चीनबीच २०१२ साउन १७ गते कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलोपटक चिनियाँ उच्च पदस्थका रुपमा उप-प्रधानमन्त्री उलान्हु राजा महेन्द्रको शुभराज्याभिषेकमा पाहुना भएर २०१३ को वैशाखमा आएका थिए ।

२०१३ को माघमा चिनियाँ प्रधानमन्त्री चाउ एन लाई नेपाल भ्रमणमा आएका थिए । यसबीच चीनले तिब्बतलाई आफ्नो एक राज्यका रुपमा समाहित गर्न सफल भयो । यता नेपालमा पनि आमचुनावपछि प्रजातान्त्रिक सरकारको गठन भयो । साथै सरकार प्रमुखको हैसियतले बीपी कोइरालाले २०१६ को चैतमा चीन भ्रमण गरेका थिए । चिनियाँ पक्षले नेपालमा विभिन्न सहयोगको इच्छा देखाएको थियो । २०१८ असोज १९ मा राजा महेन्द्र र चिनियाँ समकक्षी राष्ट्रपति ल्यु शाआचीद्वारा सीमा तथा मैत्री सन्धि भएको १० दिनपछि नेपालका परराष्ट्रमन्त्री तुलसी गिरी र चिनियाँ विदेशमन्त्री चेन ई ले कोदारी राजमार्ग निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

नेपाल र चीनबीचको यस सम्झौताको भारतले विरोध गर्न थाल्यो । राजा महेन्द्र नेहरुबाट त्रसित थिएनन् । त्यसैले राजा महेन्द्रले ‘नेपालमा साम्यवाद ट्याक्सी चढेर आउँदैन’ भन्दै हस्यौली पारामा जवाफ दिएका थिए । सम्झौताअनुरुप २०१९ असार १७ मा कोदारी राजमार्गको निर्माण सुरु भयो । चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर विभिन्न अवरोधले पाँच वर्ष लाग्यो ।

राजमार्ग निर्माणको कठिन क्षेत्रमा गोप्य रुपमा चिनियाँ सेनाको सहयोग लिइएको थियो । करिब ५०० चिनियाँ सैनिकहरुको नेतृत्व लेफ्टिनेन्ट कर्णेल लीले गरेका थिए । भारतको विरोधको सम्भावनालाई देखेर सैनिक परिचालनको सम्झौता राजा महेन्द्र र माओबीच गोप्य राखिएको थियो । नेपाली सरकारी स्तरमा पनि यसको जानकारी दिइएको थिएन । चिनियाँ सैनिकहरुको सुरक्षार्थ तथा निगरानीमा दरबारका विश्वासिला मेजरहरुको कमान्डमा नेपाली सेना निर्माण स्थलको १०० मिटर दूरीमा क्याम्प बनाएर बस्दथे ।

यसको रहस्योद्घाटन निकै वर्षपछि पूर्वचिनियाँ राजदूत चेङ सुयोंगबाट ‘You and Us : Stories of China and Nepal’ मा उल्लेख गरेका थिए । यस पुस्तकमा चीन-नेपाल सम्बन्धको विषयमा १६ चिनियाँ कूटनीतिज्ञ तथा सात नेपाली लेखकका लेखहरु समावेश गरिएको छ । सुयोंग राजमार्ग निर्माणको समय चिनियाँ सेनाका कमान्डर लेफ्टिनेन्ट कर्णेलली का दोभाषेका रुपमा कार्यरत थिए ।

यसरी २०१९ मा निर्माण थालनी भएर २०२४ सालमा तयार भएको राजमार्ग निर्माणको क्रममा १२ चिनियाँ सैनिकले ज्यान गुमाएका थिए । करिब ३५ लाख पाउन्ड खर्च भएको यस राजमार्गको उद्घाटन राजा महेन्द्रले २०२४ सालको असारमा गर्दा भक्तपुरमा भव्य समारोह गरिएको थियो । चिनियाँ पक्षले राजमार्ग सम्पन्न भएको अवसरमा भव्य भोजको व्यवस्था गरिएको थियो ।

नेपाल र चीनबीचको यो सम्झौताको भारतले विरोध गर्न थाल्यो । राजा महेन्द्र नेहरुबाट त्रसित थिएनन् । त्यसैले राजा महेन्द्रले ‘नेपालमा साम्यवाद ट्याक्सी चढेर आउँदैन’ भन्दै हस्यौली पारामा जवाफ दिएका थिए ।

यहाँ राखिएको तस्बिर कोदारी राजमार्गको अन्तिम विन्दु चिनियाँ सीमामा रहेको भोटेकोसीमाथि बनेको पुलको हो । राजमार्ग बन्नु अगाडिसम्म काठको मुढा तेर्स्याइएको एकजना मात्र हिँड्न मिल्ने थियो । पुल तयार भएपछि मानिस हिँड्न दायाँ-बायाँको भाग र बीचमा गाडीका लागि छुट्ट्याइएको थियो । Concrete arch deck डिजाइनमा बनाइएको पुल बनिसकेपछि चिनियाँ प्राविधिकले Yǒuyì zhī qiáo नाम राखे । यसको नेपाली नामको लागि चेङ सुयोंगलाई सोधियो । उनले तत्कालै नेपाली नाम भने ‘मितेरी पुल’ यही नाम नै अन्तिम टुंगो लाग्यो । ठूला-ठूला अक्षरले चिनियाँ भाषा र नेपाली भाषामा पुलको नाम लेखियो । पछि यो ‘मितेरी पुल’ कै नामले नै प्रख्यात भयो । पुलको तस्बिर नजिकबाट खिच्न नदिइने हुँदा टाढाबाट खिचिएको थियो ।

May be an image of mountain and nature

प्रतिक्रिया