सती प्रथा उन्मूलनको १०१ वर्ष !

सती प्रथा साँच्चै शास्त्रमा वा पुराणहरुमा वर्णित वा पुण्य मिल्छ भनेर नै सुरुवात भएको हो वा पारिवारिक सामाजिक दबाबले विधवा भएकी महिलालाई सती जान बाध्य तुल्याइएको ? सती शब्द हिन्दुहरुको आख्यानका रुपमा रहेको स्कन्द पुराणको पहिलो खण्ड केदारखण्डबाट आएको हो । उक्त खण्डमा महादेवका कथाहरु छन् । जसमा महादेवकी जेठी श्रीमती सतीदेवीको वर्णन गरिएको छ । आफ्ना पति महादेवप्रति आफ्नै पिताले गरेको दुर्वचन सहन नसकेर सतीदेवीले होमका लागि बनाइएको कुण्डमा हाम फालेर आफ्नो जीवन अर्पित गर्छिन् अनि महादेव शोकले व्याकुल भएर सतीदेवीको शरीर बोकेर भौंतारिन्छन् । यही क्रममा गलेर अंगपतन हुँदा हरेक अंगपतन भएको स्थानमा पीठ स्थापना गरिएको वर्णन गरिएको छ । यही नै सती शब्दको सुरुवात हो ।
यद्यपि सतीले पतिको निन्दा सहन नसकेर गरिएको आत्मदाहको कथालाई पतिको मृत्युपछि आत्मदाह गर्न बाध्य बनाइयो । नेपालमा कहिलेदेखि विधवालाई सती जान बाध्य बनाइयो भन्ने प्रमाण खोज्दा वि.सं. ५२१ मा पहिलो सती गएको भेटिएको कुरा एलेक्स माइकेलको पुस्तक Hinduism : Past and Present मा उल्लेख गरिएको छ ।
सती जान इच्छुक हुने महिलाभन्दा बढी सती जान बाध्य बनाइएका घटना धेरै पढ्न पाइन्छ । धर्मका नाममा तथा सतित्वको नाममा पनि सती जान मानसिक रुपले बाध्य बनाइन्थ्यो । विधवा विवाहका केही घटनाहरुका कारणले पनि समाजका धर्मान्धहरुले विधवालाई सती जान धार्मिक दबाब दिन थालेका थिए । सती जान नमान्नेहरुलाई करकापमा तथा जबर्जस्ती पतिको चितामा राखिन्थ्यो । विधवाको चिच्याहट नसुनियोस् भनेर बाजासहित सती जाने कार्यलाई उत्सव झै गराइन्थ्यो । चिताबाट भाग्न खोजे ढुंगाले हानेर वा बाँसका भाटाले हिर्काएर बेहोस बनाएर पनि चितामा जलाइन्थ्यो अर्थात् क्रूर र अमानवीय धार्मिक हत्या गरिन्थ्यो ।
सती जान बाध्य बनाइएको सबैभन्दा बढी घटना अठारौ शताब्दीमा भेटिन्छ । साधारण परिवारमा भन्दा बढी राजपरिवारमा तथा सभ्रान्त परिवारमा देखिन्थ्यो । अन्य परिवारमा न्यून सतीका घटनाहरु भेटिने गर्दछ ।
नेपालमा सती प्रथामा बन्देजको सुरुवात जंगबहादुरले १९१० पुस २३ गते बिहीबार जारी गरेको मुलुकी ऐनमा सती जान्याको सम्बन्धी महल नै लेखेका थिए । यस अर्थले सती प्रथाको उन्मूलन चन्द्रशमशेरले गरे तापनि सुरुवात भने जंगबहादुरले नै गरेका थिए । यस पछि वि.सं. १९४४ असार २२ गते सोमबार वीरशमशेरले सती प्रथा उन्मूलन गर्ने १९४४ को इस्तिहारमा सती जानका लागि सरकारसँग अनुमति लिनुपर्ने अन्यथा सजायको भागीदार हुने उल्लेख गरेका थिए । यसपछि बल्ल वि.सं. १९७७ सालमा चन्द्रशमशेरले सती जान पूर्ण रुपमा बन्देज नै लगाइ दिए ।
सती प्रथा उन्मूलनको सय वर्ष नाघिसकेको अवस्थामा पनि अझै सती प्रथाको निशानीका रुपमा सतीद्वार तथा सती ढुंगाले अझै पनि सती प्रथाको यादहरु दिलाइरहने गर्दछ ।
जंगबहादुरले मुलुकी ऐनमा सतीजान्याको महल नै राखेको भए पनि उनको १९३३ फागुन १६ गते आइतबार पत्थरघट्टामा निधन भएपछि फागुन १९ गते बुधवार उनको अन्त्येष्टि गरिँदा उनको साथमा उनका तीनजना रानी पुतली महारानी, मैयाँ महारानी र मिश्री महारानी सती गएका थिए । फ्रान्सेली पुस्तकमा राखिएको जंगबहादुरको दाहसंस्कारमा उनका रानीहरु सती गएको यो चित्रले दुखद परिस्थित देखाउँछ । पतिको मृत्युको शोकमा डुबिरहेको बेला जिउदै जल्नुपर्ने एउटा त्रास पनि मिसिएको अवस्था हो ।


प्रतिक्रिया