चन्द्रशमशेरको अभियानमै परेको तार्कुघाटको झोलुंगे पुल

झोलुंगे पुलको इतिहास हामीले पल्टाएर हेर्यौ भने हामी फर्केर राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई सम्झनुपर्छ । राणाहरुले केवल देशको ढुकुटी रित्याए वा मोजमस्ती मात्र गरे भन्ने गलत मानसिकता नेपालीहरुमा परेको पाउँछौ । राणाहरुले आफ्नो प्रभुत्व गुम्न नदिन राजनीति गर्न खोज्ने वा टाठाबाठा हुन खोज्नेहरुलाई निकै दबाएका थिए । तर समुच्च जनतालाई सम्पूर्ण सुविधाहरुबाट वञ्चित गराएका थिएनन् । राणाकालमा केही राणाहरुले मोजमस्ती गरे होलान्, धन सञ्चय गरे होलान् । त्यस्तै पञ्चायतकालमा पनि केही पञ्चहरुले मोजमस्ती गरे होलान् धन सञ्चय गरे होलान् । अहिले गणतन्त्र कालमा पनि केही नेता र नेताका चम्चाहरुले मोजमस्ती गरेका नै छन् र धन सञ्चय पनि गरिरहेका छन् । आखिर हामीले व्यवस्था बदलिए पनि ठूलाठालु हुन खोज्नेको सोच त बदल्न सकेनौं । हरेक चुनावमा आँखा चिम्म गरेर तिनीहरुलाई नै भोट दिँदै जिताउने त हामी नै हौ । शासन पद्धति त कहिल्यै गलत थिएन केवल शासकहरु गलत भइदिए ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९६० तिर नेपालमा झोलुंगे पुल राख्ने अभियान नै चलाएका थिए । यी झोलुंगे पुलहरु केवल काठमाडौंका लागि बनाइएका थिएनन् । दुर्गम गाउँहरुमा पनि राखिएका थिए । ४० वर्ष अगाडिसम्म पनि गुलजार नभएका गाउँहरु नजिकैका खोलाहरुमा पनि झोलुंगे पुलहरु बनाइएका थिए । झोलुंगे पुलका लागि आवश्यक फलामे सामानहरुको लागि नजिकैको भारत होइन । युरोपको एक छेउमा रहेको स्कटल्यान्डको उत्तरी सहर एबरडिनसँग नाता गाँसिएको थियो । भौगोलिक रुपले भनौं भने ७००० किमीभन्दा टाढा थियो । तर त्यहाँदेखि आजभन्दा ११८ वर्ष अगाडि फलामे सामग्रीहरु ल्याएर नेपालमा झोलुंगे पुलहरु बनाइएका थिए । अहिलेका दलीय नेताहरुमा त्यतिको सोच भेटिँदैन ।
जोन एम हेन्डरसन कम्पनी, एबरडिन, स्कटल्यान्डमा रहेको पुल तथा अन्य कामका लागि आवश्यक फलामका लट्ठा तथा केबलहरु तयार बनाउने कम्पनी थियो । यस कम्पनीका एक्ला मालिक जोन मैकडोनाल्ड हेन्डरसन एक प्रतिभाशाली इन्जिनियर थिए । केही न केही नयाँ प्रयोग गरिरहने यी इन्जिनियरले सन १८६६ मा आफ्नै कम्पनी खोलेर विभिन्न निर्माण सामग्रीहरु तयार गर्न थालेका थिए । १८८० सम्म आइपुग्दा फलामे पुलका सामग्रीहरु तयार गर्न थालका थिए भने १९२७ मा आइपुग्दा पानीजहाज कारखाना पनि सुरु गरेका थिए । सायद भारतमा रहेका अंग्रेज अफिसरहरुमार्फत यस कम्पनीसँग नेपालको पनि सम्पर्क भएको हुनुपर्छ । यही कम्पनीलाई नै नेपालमा सयभन्दा बढी झोलुंगे पुलहरु बनाउन जिम्मा दिइएको थियो ।
नेपालका ठूला तथा साना नदीहरुमा बाँसका पुलहरु हिउँदमा काम लाग्थे । वर्षात्को भेलमा बगाएर लग्दथ्यो । यसरी अस्थायी बाँसे पुलहरुले वर्षाको मौसममा ठूलो समस्या भोग्नुपर्दथ्यो । यसर्थ चन्द्रशमशेरको समयमा जोन एम हेन्डरसन कम्पनीसँग पुल निर्माणका लागि काम सुरु भयो । पहिलो नमुना पुलका रुपमा हेन्डरसन कम्पनीले वि.सं. १९६४ मा सिन्धुली र रामेछापको बीचमा सुनकोसी नदीमाथि पुल बनाएको थियो । खुर्कोटमा बनाएको पुलले निकै वर्ष सेवा दियो । यो पुललाई २०४२ सालको साउनमा सुनकोसी नदीमा आएको ठूलो बाढीले बगाएर लगेको थियो ।
चन्द्रशमशेरले एबरडिन कम्पनीलाई कतिवटा पुल जडान गर्न दिए भन्ने यकिन तथ्य नभए पनि पछिल्लो समय ५० वर्षअगाडि सम्म ४०-५० वटा फलामे पुलहरुमा ‘जोन एम हेन्डरसन एन्ड कम्पनी लिमिटेड’ को नाम राखिएको भेटिन्थ्यो । अहिले भने भेटिने सम्भावना निकै न्यून हुनसक्छ । काठमाडौंमा वाग्मती र विष्णुमतीलगायत मर्स्याङ्दीको तार्कुघाट, कास्कीको मौजामा पनि जोन एम हेन्डरसन एन्ड कम्पनी लिमिटेड लेखिएको फलामे झोलुंगे पुल देखिन्थ्यो ।
यसपछि झोलुंगे पुलका कुरा गर्नुपर्दा बागलुङका कामीहरुलाई सम्झनुपर्छ । आफ्नै मिहिनेत र हातले बनाएका फलामका साङ्लाबाट आफ्नै बलबुताले झोलुंगे पुल बनाउने गर्दथे । सन् १९६० र ७० को दशकमा स्विस तथा अमेरिकी सहयोगमा ४३ वटा आधुनिक पुल बनेको थियो । जबकि ७० को दशकमा बागलुङवासीले आफ्नै स्वदेशी श्रम र सामग्रीबाट ६२ वटा झोलुंगे पुल बनाएका थिए । पुलको लागत मूल्य पनि निकै न्यून थियो । सरदर रु. १०,००० मा एउटा पुल तयार भएको थियो । ३० फुट देखी ३०० फुटसम्म लामो पुल स्थानीयहरुले स्थानीय सामग्रीले नै बनाएका थिए । जसले गर्दा त्यति बेलाका दातृसंस्थाहरुबीच एउटा अघोषित नारा नै भएको थियो ‘बागलुङबाट केही सिक’ ।

यहाँ राखिएको तस्बिर लमजुङको तार्कुघाटको मर्स्याङ्दीको पुल हो । तार्कुघाट अहिले लमजुङ जिल्ला राइनास नगरपालिकाअन्तर्गत पर्दछ । यहाँको मर्स्याङ्दी नदीले तनहुँ र लमजुङलाई छुट्याउने गर्दछ । पहिले पहिले काठमाडौंबाट पोखरा हिँडेर जाँदा यही मर्स्याङ्दी नदीको फलामे झोलुंगे पुल हुँदै कुन्छा पुग्दथे । काठमाडौं उपत्यकाबाट पलायन भएर हिँडेका नेवा:हरुको यस क्षेत्रको वरपर निकै धेरै भेटिन्छ । गोरखापछि नेवा:हरुको साना-साना बस्तीहरु यहीँ नजिकै भेटिन्छ । राइनास, खोपलाङ, कुन्छा, शिशाघाट आदि स्थानमा बसेको पाउँछौं । यही तार्कुघाटबाट दक्षिण लागेकाहरु भने बन्दीपुरसम्म पुगेको देखिन्छ ।
यो पुलको पारि देखिएको सानो तार्कुघाट गाउँमा केही घर तथा एउटा विद्यालय देखिन्छ । यो पछाडि देखिएको विद्यालयको नाम श्री वीर भक्ति हाइस्कुल थियो । अहिले उच्च मावि भएको छ । यस विद्यालयमा २०२५ सालतिर प्रधानाध्यापक थिए, नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महत । सायद ३-४ वर्ष प्रधानाध्यापकका रुपमा रहे होलान् । यो तस्बिर वहाँ प्रध्यानाध्यापकका रुपमा रहनु हुँदा नै खिचिएको हो ।
प्रतिक्रिया