बिहीबार, वैशाख ११, २०८२

यसरी मनाइयो साउने सङ्क्रान्ति !

नेपालखोज २०७८ साउन १ गते २३:५५

काठमाडौं । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताए ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाएका छन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यो विधि बेलुकी सम्पन्न गरिन्छ ।

लुतो फाल्दा आ आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण आफन्तकहाँ जान सहज भएन । यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाएका छन् । भक्तजनको भीड लाग्ने राजधानीलगायत देशभरका शिवालयमा पनि आज मानिस देखिएनन् । पशुपतिनाथ मन्दिर कोरोनाका कारण भक्तजनका लागि खुला नगरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए। मूल मन्दिर क्षेत्र सुनसान रहे पनि बाहिरी भागमा भने भक्तजनको चहलपहल देखिएको थियो ।

प्रतिक्रिया