बुधबार, वैशाख १०, २०८२

राजधानीमै सार्वजनिक यातायातमा मनपरी भाडा, अनुगमन सुस्त

नेपालखोज २०७८ साउन २ गते १७:५०

काठमाडौं । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् ।

विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ ।

यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा २० रूपैयाँ असुलेको बताए । बढी भाडा लिने बा२ख ६८०५ नं को बसका बारेमा प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन ।

ट्राफिक प्रहरीको नं १०३ मा फोन गरी तोकिएको भन्दा छ रूपैयाँ बढी भाडा लिएको जानकारी गराए पनि कारबाही नभएको उनको दुःखेसो छ । फोन उठाएका ट्राफिक प्रहरी चन्द्र केसीले कारबाही गराएरपछि जानकारी गराउँछौं भनेको यात्रु सिम्खडाले बताए ।

त्यो सवारीपछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारवाही नभएको उनको ठम्याइ छ । साउन लागेसँगै भाडा बढेको छ भनी ठगिनेमा सिम्खडा प्रतिनिधि पात्र मात्र हुन् ।

यही साउन १ गते शुक्रबार नै रत्नपार्कबाट गौशालासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु रमा भट्टराईले तोकिएभन्दा छ रूपैयाँ नै बढी भाडा तिर्नुप¥यो ।

असार ३१ गतेदेखि भाडा बढेको छ । अब चढेपछि न्यूनतम २० रूपैयाँ भाडा भएको छ भन्दै बा५ख २७६४ नंको बसका परिचालकले भट्टराईसँग बढी भाडा असुलेका हुन् ।

छोटो दूरीमा छ रूपैयाँ र लामो दूरीमा दोब्बरसम्म बढी भाडा असुली भइरहेको भएपनि अनुगमन गर्नुपर्ने निकाय मौन छन् । विभागको वेबसाइटमा राखिएको ल्याण्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ ।

वेबसाइटमा विभागका सूचना अधिकारी डा लोकनाथ भुसालको मोबाइल नम्बरसमेत राखिएको छ । भुसालको ९८५१२५३१३५ मोबाइल नंमा पटकपटक फोन गर्दासमेत उठ्दैन ।

महानिर्देशक नमराज घिमिरेको मोबाइल नम्बरसमेत पत्ता लगाएर फोन गरे पनि नउठेको यात्रु बताउँछन् । पटकपटकको मोबाइल सम्पर्कपछि फोन उठाएका सूचना अधिकारी भुसालले विभागले अन्तर प्रदेशमा मात्र भाडा बढाउन पाउने व्यवस्थाअनुसार एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा बढी लिन पाइने गरी बिहीबारदेखि भाडा बढाइएको बताए ।

प्रदेशभित्र र स्थानीय तहको क्षेत्रमा चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश र स्थानीय सरकारलाई नै दिइएको उहाँले जानकारी गराए । विभागले गत वैशाख १७ गते भाडा बढाउने सम्बन्धमा पठाएको फाइलको निर्णयानुसार गत असार २७ गते भाडा बढाएको हो ।

सवा दुई महिनासम्म फाइल थन्क्याएर सरकार परिवर्तन हुने बेलामा भाडा बढाइएको भन्दै पाँच विद्यार्थी सङ्गठनलगायत नागरिकस्तरबाट पनि यसको विरोध भइरहेको छ ।

विभागको अनुगमन सुस्त, ट्राफिक प्रहरी केही सक्रिय

यातायात अनुगमनका लागि विभागबाट विशेष जिम्मेवारी पाएका नायबसुब्बा केशवराज जमरकट्टेल र चार जना ट्राफिक प्रहरी अनुगमनमा खटिने गरेको सूचना अधिकारी भुसालले जानकारी दिए । विभागले यातायात अनुगमनका लागि छुट्टै सवारीको व्यवस्था गरे पनि त्यसको सदुपयोग नभएको यात्रुको गुनासो छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता सञ्जीव शर्मादासले शुक्रबार तोकिएभन्दा बढी भाडा लिने १६० सवारीलाई कारवाही गरिएको जानकारी दिए ।

बढी भाडा लिने सवारीलाई पहिलोपटक ५ सय रूपैयाँ देखि एक हजार ५ सय रूपैयाँसम्म कारबाही गरिएको महाशाखाले जनाएको छ । बढी भाडा लिने क्रम दोहो¥याउने सवारीलाई पाँच हजार रुपैयाँ कारबाही गरी सवारी सिज गर्नेसम्मको तयारी भएको प्रवक्ता शर्मादासले बताए ।

शनिबार पनि बिहानैदेखि बढी भाडा लिएको गुनासो आइरहेकाले कार्यालयबाट धेरै जनशक्ति सार्वजनिक यातायात अनुगमनमै खटाइएको महाशाखाले जनाएको छ ।

यात्रुलाई तोकिएभन्दा बढी भाडा नतिर्न र बढी भाडा लिनेको जानकारी महाशाखाको निःशुल्क फोन नं १०३ मा खबर गर्न प्रवक्ता शर्मादासले आह्वान गरे । रासस

प्रतिक्रिया