बिहीबार, वैशाख ११, २०८२

एकादशीको महिमा

नेपालखोज २०७८ साउन ५ गते ५:०८

वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान विष्णुको दिन भन्ने चलन छ । यो दिन भगवान विष्णुलाई पूजा आराधना गर्दा फलदायी हुन्छ भन्ने मान्यता रहँदै आएको छ । भविष्योत्तर पुराणमा एकादशीहरुको महिमा प्रष्टसँग वर्णन पाइन्छ । ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने प्रचलन पनि रहेको छ ।

अषाढ शुक्लपक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रुपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात विष्णु यस एकादशीबाट चार महिनाका लागि क्षीर सागरमा प्रस्थान हुने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी अर्थात देवशयनी र असारे एकादशी पनि भनिन्छ । आजको दिन अर्थात यो एकादशीबाट सुतेका हरि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र उठ्छन् भन्ने जनविश्वास रहँदै आएको छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिन पनि भनिन्छ ।

निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ । आजको दिन भगवान् विष्णुको प्रतिकको रुपमा घरघरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ बनाउने तुलसी बिना भगवान विष्णुको कुनै पनि पुजा आराधनाले पूर्णता पाउदैन भन्ने जनविश्वास रहँदै आएको छ । आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वाश रहिआएको छ ।

चतुर्मास व्रत आरम्भ
हरिशयनी एकादशी देखि हरिबोधनी एकादशीसम्मको ४ महिना भगवान विष्णुले सयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यस बेला भगवान विष्णुले आफू सयन गर्ने हुँदा भगवान शिवलाई आफ्नो कार्यवाहक सुम्पेका हुन्छन्, तसर्थ धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरुले विशेष गरि भगवान शिवको पुजाआजा गरी व्रत बस्ने चलन पनि रहेको छ । भगवान विष्णु शयन गर्ने यो ४ महिना भित्र श्रावणको व्रत,गणेश चतुर्थी,हरितालिका तिज, ऋषिपञ्चमी, नागपञ्चमी,नवरात्री, कोजाग्रत पुर्णिमा, गोवर्धन पुजा आदि जस्ता थुप्रै दिनहरुमा बसिने व्रतहरु चतुर्मास व्रतहरु हुन् । यो ४ महिनाको समयमा आफ्नो शारिरीक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता परापुर्वकाल देखि रहिआएको छ ।

प्रतिक्रिया