बुधबार, वैशाख १०, २०८२

तेह्रथुम पावरको आईपीओ आजदेखि, कसले दिने आवेदन ?

नेपालखोज २०७८ साउन ५ गते ६:४२

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओको बिक्री आजदेखि खुला भएको छ । कम्पनीले बनाइरहेको माथिल्लो खोरूङ्गा खोला साना जलविद्युत् आयोजना प्रभावित बासिन्दाले मात्र कम्पनीको आईपीओका लागि आवेदन दिन पाउनेछन् ।

तेह्रथुम जिल्लाका बासिन्दाका लागि चार लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गरिने भएको हो । आईपीओमा छिटोमा साउन १९ गतेसम्म आवेदन दिन पाइन्छ । त्यस अवधिमा बिक्री नभए भदौ २ गतेसम्म बिक्री खुला हुने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

प्रभावित बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । धनकुटाको हिलेमा रहेको माछापुच्छ्रे बैंकको शाखा कार्यालय, धनकुटाकै नेपाल बंगलादेश बैंक र ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरु र आयोजनाको कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रभावित क्षेत्रका लागि सेयर जारी गरेपछि कम्पनीले सर्वसाधारणका लागि आठ लाख कित्ता सेयर जारी गर्दै छ । प्राथमिक सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले आफ्नो जारी पुँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ करोड रकमबराबर प्रतिसेयर सय रुपैयाँ अंकित मूल्यको १२ लाख कित्ता साधारण सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दा तेह्रथुम जिल्लामा स्थायी बसोबास गर्नेका लागि बिक्री हुन लागेको हो । बाँकी २० प्रतिशत अर्थात आठ लाख कित्तामध्ये कम्पनीका कर्मचारीलाई २ प्रतिशत अर्थात् १६ हजार र सामूहिक लगानी कोषहरुलाई ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर छुट्याइएको छ ।

प्रतिक्रिया