बिहीबार, वैशाख ११, २०८२

कोरोना प्रभाव : साउनमा पनि चुरा पोतेको व्यापार हुन सकेन

नेपालखोज २०७८ साउन ६ गते १९:३८

काठमाडौं । यस वर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन् । साउन लागेसँगै काठमाडौंको असन बजार हरियो, राता, पहेलो चुरा, पोते, मेहेन्दीे र पहेँलो कपडाले सजिएको छ । तर, गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन् । महिलाहरुले हातमा मेहेन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्दथ्यो ।

यस पटक कोरोनाका कारण भने जति व्यापार हुन नसकेको असनका व्यापारी राजु लामिछानेले बताए । निषेधाज्ञा खुले पनि कोरोनाको डरले गर्दा मानिस घरमै थुनिन बाध्य भएकाले व्यापार सन्तोषजनक हुन नसकेको लामिछानेले बताए । उनले यस वर्ष साउनको पहिलो साता वितिसक्न लाग्दा पनि गत वर्षको तुलनामा ७/८ प्रतिशत मात्र व्यापार भएको बताए ।

सबैलाई कोभिडविरुद्धको भ्याक्सिन लगाउन सके व्यापार आशा गरे अनुसार हुने विश्वास उनको छ । उनले भने “मानिसको कमाइ छैन, कसरी किन्न आउनु ? गत वर्षको तुलनामा यस वर्षको बजार धेरै डाउन छ । सरकारले कोभिड विरुद्धको भ्याक्सिन लगाउन सक्यो भने अलि बढ्थ्यो कि ?”

त्यस्तै असनकै अर्की व्यपारी निरु भट्टराईले साउन महिना परापूर्वकालदेखि शिवजीको पूजाआराधना गरेर मनाइने भएकोले हरियो चुरापोते र मेहेन्दी लगाएर मनाइने गरेको बताइन् । प्रकृतिले नयाँ स्वरुप परिवर्तन गर्ने महिनाको रुपमा परिचित साउनमा महिलाले हातमा मेहेन्दी र हरियो चुरा लगाएर महिनाभर महादेवको पूजाआराधना गर्दछन् ।

प्रकृति हरियालीमा रमणीय देखिने भएकोले आफ्नो श्रृंगारलाई प्रकृतिको हरियालीसँग मिसाउँदै साउन महिनामा शिवजीको पूजाआराधना सहित व्रत बस्ने गरिन्छ । यसरी व्रत बस्न पाउँदा महिलाहरु उत्साहित हुने गर्दछन् । यो महिना भगवान् शिवको प्यारो महिना भएकोले प्रकृति अनुरुप हरियो पहिरनमा श्वेत अक्षता, बेलपत्र, धतुरो, नरिवल चढाएर पूजा गरेमा सम्पूर्ण मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया