केशव आचार्यका दुई गजल

गजल : १
म जिन्दगी बुझी रहेछु हरेक पलबाट।
थोरै मात्र मुक्त रहेछन् कपट् र छलबाट।
बेकार तिमी लत र कुलतका कुरा गर्छौ,
मुक्त भएन मनुष्य सुखको तलतलबाट।
सत्ता शक्ति सुखमा पुगे पछि प्राय: सबैले,
समस्याको समाधान खोज्छ्न् बाहुबलबाट।
जन सेवाको वाचा गरेर पुग्दछन् सत्तामा,
वाचाको ‘छल’ हट्न सकेन ठूला दलबाट।
बोटमै लुकेर, ढुकेर बस्या छन् चोरहरु,
के आशा गर्नु र ? त्यो आकाशको फलबाट ।
समयले संकेत गरी रहेछ हाँस्नु कसरी ?
कमल मुस्काउँछ हिलै हिलोको मलबाट।
गजल : २
सकुनीको काखमा बस्यौ कि- स्वाहा !
कुटिल मुस्कानमा फस्यौ कि- स्वाहा !
गति मति छाडी शक्तिको आडमा,
स्वार्थको सुरुङ तिर पस्यौ कि-स्वाहा !
शान्तिका नाममा अशान्ति मच्चाएर,
बुद्धका आँखाबाट खस्यौ कि-स्वाहा !
‘आफू छैन त- कोही छैन’ भनेर ,
न्याय मास्न कम्मर कस्यौ कि-स्वाहा !
शिरमा कात्रो बाँधी,युद्ध लड्न छोडी,
निधारमा खरानी घस्यौ कि- स्वाहा !
प्रतिक्रिया