बुधबार, वैशाख १०, २०८२

सातामा ४ दिन मात्र बजार खुल्दा ४२ अर्ब ४६ करोडको सेयर किनबेच

नेपालखोज २०७८ साउन ८ गते १४:२७

नेप्से तीन हजार चार दशमलव ३१ अंकमा सीमित

काठमाडौं । लगानीकर्ताहरूका लागि यो साता नेप्से सुखद देखिएको छ । चालु आर्थिक वर्षको सुरुवाती साता चार कार्यदिन मात्र नेप्से खुला रहे पनि तेस्रो दिनबाहेक नेप्से लगातार बढेको थियो । सोही आधारमा नेप्सेले यो साता तीन हजार अंक छुँदा लगानीकर्ता हर्षित देखिएका हुन् । नेप्से तीन हजार चार दशमलव ३१ अंंकमा कायम रहँदा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ६२ दशमलव २४ अंकमा कायम भएको छ ।

नेप्सेमा यो साता दुई सय २२ कम्पनीको चार लाख २३ हजार तीन सय ३१ पटकको कारोबारमा १५ करोड ४० लाख ६ हजार सात सय दुई कित्ता सेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार नौ सय ८५ रुपैयाँ पुग्न सफल भएको छ ।

यो कारोबार रकम गत साताको तुलनामा झन्डै पाँच अर्ब रुपैयाँले बढी हो । गत साता दुई सय २९ वटा कम्पनीको तीन लाख ५२ हजार दुई सय ४३ पटकको कारोबारमा १७ करोड ३१ लाख ९६ हजार नौ सय ८२ कित्ता सेयर खरिद बिक्री भएका थिए । जसअनुसार उक्त साता कुल कारोबार रकम ३७ अर्ब ३८ करोड ५९ लाख ५५ हजार सात सय ५४ रुपैयाँ पुगेको थियो ।

नेप्से यो चार दिन कार्य दिन मात्र खुला थियो । जसमध्ये पहिलो, दोस्रो र पाँचौं दिन नेप्से बढेको थियो भने तेस्रो दिन नेप्से घटेको थियो । चौथो कार्यदिन अर्थात् बिहीबार भने बकर इदको सार्वजनिक बिदा परेका कारण नेप्से बन्द थियो । सोही आधारमा साताको पहिलो कारोबार दिन आइतबार ९७ दशमलव २१ अंकले बढेर २९ सय ८० दशमलव ६१ कायम रहेको नेप्से अन्तिम कारोबार दिन बिहीबार पनि १८ दशमलव ७५ अंकले बढेर तीन हजार चार दशमलव ३१ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो कारोबार दिन १९ दशमलव ५५ अंकले बढेर पाँच सय ६० दशमलव ९६ अंकमा कायम रहेकोमा अन्तिम कारोबार दिन बिहीबार चार दशमलव ६ अंकले बढेर पाँच सय ६२ दशमलव २४ अंकमा पुग्न सफल भएको थियो ।

यो साता नेसनल हाइड्रो पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण काबेली पावर लिमिटेड आदिको बढी रकम कारोबार भएका छन् । नेसनल हाइड्रो पावर कम्पनी, हिमाल दोलखा हाइड्रो पावर कम्पनी, अरुण काबेली पावर लिमिटेड आदिको बढी संख्यामा सेयर खरिद बिक्री भएका छन् ।

बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् । यो साता हिमालयन जनरल इन्स्योरेन्स र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा नियमित कारोबारका लागि सूचीकृत भएका छन् ।

प्रतिक्रिया