प्रधानमन्त्री रोजगारको बजेट अर्को सातादेखि पठाइने तयारी
११ माघ, काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ ।
मन्त्रालयले चालू आर्थिक वर्षमा सबै स्थानीय तहका परियोजनामार्फत बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्यसहित पाँच अर्ब एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा ७ सय ५३ वटा स्थानीय तहबाट आएका आयोजना र बेरोजगारको सङ्ख्याका आधारमा स्थानीय तहमा बजेट पठाउने तयारी गरेको हो ।
मन्त्रालयले गएको कात्तिकमै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहका परियोजना र बेरोजगार युवाको सङ्ख्या पठाउन पत्राचार गरिसकेको थियो ।
मन्त्रालयका अनुसार अहिलेसम्म ५सय ६४ वटा स्थानीय तहबाट परियोजना र बेरोजगार युवाको विवरण आइसकेको छ भने बाँकीको आउने क्रममा रहेको छ ।
७५३ स्थानीय तहमा ६० हजार गरिब विपन्न परिवारका बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने मन्त्रालयको तयारी छ । विश्व बैङ्कले पाँच वर्षसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम र रोजगार सूचना प्रणाली विकास लागि १३ अर्ब ७३ करोड रुपियाँ ऋण सहयोग गरेको छ ।
प्रतिक्रिया