१ दशमलव ४७ अंकले नेप्से बढ्दा १४ अर्ब १३ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन शून्य दशमलव ६६ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने एक दशमलव ४७ अंकले बढेर तीन हजार एक सय नौ दशमलव ६० अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स भने आज दुई दशमलव पाँच अंकले घटेर पाँच सय ७५ दशमलव ९५ अंकमा पुगेको छ । दुई सय २४ वटा कम्पनीहरुको एक लाख २८ हजार नौ सय ५९ पठकको कारोवारमा दुई करोड ५३ लाख ९३ हजार छ सय ९९ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कुल सेयर कारोबार रकम १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार हुँदा चारवटा समूहको सूचक बढेका छन् भने नौवटा समुहको सुचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव आठ अंकले घटेर दुई हजार ९० दशमलव ६८ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ५३ दशमलव १२ अंकले घटेर पाँच हजार ३८ दशमलव २७ अंकमा झरेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लघुवित्त, ट्रेडिङ, उत्पादनमुलक, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि घटेका छन् ।
जलविद्युुत समूहको सूचक भने आज एक सय १९ दशमलव ५७ अंकले बढेर तीन हजार छ सय ९३ दशमलव ८० अंकमा चढेकोमा निर्जीवन बिमा समूह सूचक पनि ३९ अंकले बढेर १४ हजार चार सय ८८ अंकमा चढेको छ ।
यसैगरी फाइनान्स र जीवन बिमा सूचक पनि बढेका छन् । आज युनियन नेपाल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ५० रुपैयाँमा कारोबार हुँदा सिद्धार्थ बैंक ऋणपत्रको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ९६ प्रतिशतले घटेर एक हजार ५३ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता छ सय २९ रुपैयाँ अन्तिम मूल्यमा ६७ करोड छ लाख ९४ हजार नौ सय रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया