बुधबार, वैशाख १०, २०८२

१६ अंकले नेप्से बढ्दा १७ अर्ब ५१ करोडको सेयर किनबेच

नेपालखोज २०७८ साउन २८ गते १५:४०

काठमाडौं । नेप्सेको उच्च वृद्धिले साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन शून्य दशमलव ९४ अंकले बढेको नेप्से आज १६ दशमलव ४१ अंकले बढेर तीन हजार एक सय ७९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४६ अंकले बढेर पाँच सय ९१ दशमलव १६ अंकमा पुगेको छ ।

आज दुई सय २५ वटा कम्पनीहरुको एक लाख ५४ हजार छ सय ६० पटकको कारोबारमा तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार हुँदा सातवटा समूहको सूचक बढेर छवटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ९९ अंकले बढेर दुई हजार एक सय २४ दशमलव ९४ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि तीन सय ४४ दशमलव ४१ अंकले बढेर पाँच हजार सात सय ४९ दसमलव २५ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक पनि ३१ दशमलव पाँच अंकले बढेर १८ हजार दुई सय १३ दशमलव ३७ अंकमा चढेकोमा फाइनान्स, उत्पादनमुलक, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

जलविद्युत समूहको सूचक भने आज २४ दशमलव आठ अंकले घटेर तीन हजार आठ सय १३ दशमलव छ अंकमा झरेकोमा निर्जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन, अन्य र लघुवित्त समूहरुको सूचक पनि घटेका छन् ।

आज रुरु जलविद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार तीन सय ३१ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्स सेयरको मूल्य पाँच दशमलव ७६ प्रतिशतले घटेर सात सय चार रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अपरतामाकोसी हाइड्रो पावर कम्पनीको भने प्रतिकित्ता आठ सय ७४ रुपैयाँ अन्तिम मूल्यमा ६२ करोड ७९ लाख ९७ हजार आठ सय रुपैयाँको कारोबार भएको छ । अपरतामाकोसीको यो कारोबार आज भएका अन्य कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया