अझै एउटा बिहानी रोज्न देऊ
किशाेर विश्वकर्मा
२०७८ साउन ३० गते १०:०८

जिन्दगीका यी संलापहरूमा
एकछिन् मलाई रूझ्न देऊ
जिन्दगीका यी बिलापहरूमा
एकछिन मलाई रून देऊ
स्वादहीन आकाशसँगै भिजेको
त्यो चिसो-चिसो बोझिलो शोकहरू
अझै छातिसम्म पुग्नसकेको छैन
आँखाभरि रूझेर आँखामै सुकेका
ती आराधनाहरू
अझै मनभरि फुल्न सकेको छैन ।
जिन्दगीसँग थुप्रै कथाहरू छन्
जिन्दगीसँग थुप्रै व्यथाहरू छन्
ती कथाहरू ती व्यथाहरूलाई
एकछिन भए पनि आँखाभरि सजाउन देऊ ।
प्रत्येक आँखाहरूमा सपना हुन्छ
प्रत्येक बिहानीहरूमा बिपना हुन्छ
सपनासँगै बिपना बोकेका
समयविहीन ती पाइलाहरूलाई
अझै एउटा बिहानी रोज्न देऊ ।
जिउँदो हुनुको अर्थ
खोज्दा-खोज्दै निदाएका
आफ्नै स्वाभिमानका इतिहासहरूमा
मलाई एउटा उचाइ थप्न देऊ
आत्मोत्सर्ग खोजिरहेका मान्छेका आवाजहरूलाई
एकछिन भए पनि मुस्कुराउन देऊ ।
सम्बन्धित
प्रतिक्रिया